सत्तारुढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य, सांसद एवं पूर्वमन्त्री सञ्जय गौतम बर्दियामा आमरण अनशनमा बसेका छन् ।
बर्दिया क्षेत्र नम्बर १ का सांसद गौतम शनिबार रातिदेखि बर्दियाको जब्दीघाटस्थित भत्किएको पुलमुनि टेन्ट लगाएर आमरण अनशनमा बसेका हुन् ।
उनी बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माण, भासिएको पुलको स्पान हटाउनु पर्ने, बबई नदी तटबन्ध गर्नुपर्ने लगाएतका १५ बुँदे माग राख्दै अनशनमा बसेका हुन् ।
उनको मागको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल तत्काल निर्माण गर्नुपर्ने रहेको छ । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने गरी बनाइएको पुल उद्घाटन नहुँदै २०७४ साउनमा भत्किएको थियो । पप्पु कन्स्ट्रक्सनले उक्त पुल बनाएको थियो ।
सांसद गौतमसँगै प्रदेशसभा सदस्य भुवनेश्वर चौधरी पनि आमरण अनशनमा बसेका छन् ।








