गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले शपथ लिएका छन् ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई हिजो मुख्यमन्त्री नियुक्त गरेका थिए ।
उनलाई आज शुक्रबार प्रदेश प्रमुख गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
पाण्डे कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
प्रदेश प्रमुख शेरचनले बिहीबार बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरेका चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
चौधरीलाई स्वतन्त्रसहित ८ दलका ५३ जना सांसदहरुले समर्थन गरेका छन् ।








