लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी विश्वासको मत पाउन असफल भएका छन । विश्वासको मत नपाएसँगै मुख्यमन्त्री गिरी पदमुक्त भएका छन ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मतका लागि राखेको प्रस्तावमा आवश्यक मत पाउन सकेनन । सरकार निरन्तरताका लागि पाउनुपर्ने ४४ मध्ये मुख्यमन्त्री गिरीले ३३ मत मात्रै प्राप्त गरे । उनलाई एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ प्रदेशसभा सांसदले मात्रै मत दिएका थिए ।

मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको थियो । प्रदेशसभामा ८७ जना प्रदेशसभा सदस्य रहेका छन् । नेकपा माओवादी केन्द्रले यसअघि दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका हुन । मत विभाजनपछि सभामुख तुलाराम घर्तीले मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गर्न नसकेको संसद्लाई जानकारी गराए ।

प्रदेशसभामा नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी चार, जसपा, लोसपा, जनमत तीन/तीन, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी एक÷एक, स्वतन्त्र एक गरी ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री गिरीले सङ्घीयता कार्यान्वयनका लागि आफ्नो नेतृत्व सरकारले थप आधार तय गर्न सफल भएको बताए । उनले आफ्नो कार्यकालको सय दिनको अवधिमा लुम्बिनी प्रदेश सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । उनले सङ्घीयता कार्यान्वयनका लागि थप आधार पनि निर्माण गरेकोसमेत बताए ।

मुख्यमन्त्री गिरीले समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको मूल उद्देश्य पूरा गरी दिगो विकास लक्ष्य हासिल गर्न लुम्बिनी प्रदेश सरकारले निजी क्षेत्र, सहकारी, समुदाय र विकास साझेदारसँग सुदृढ सम्बन्ध र सहकार्यको थालनी गरेको बताए । उनी पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका थिए ।

– रासस