नेकपा (एमाले)बाट प्रदेश गण्डकी प्रदेशसभा सदस्य बनेका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेको छ।

प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि उनले गरेको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि अधिकारीको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेको हो ।

उनले गरेको विश्वासको मतको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेको थियो । प्रस्तावका पक्षमा नेकपा (एमाले)का २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जनाले मतदान गरेका थिए । विपक्षमा नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र स्वतन्त्र एक गरी ३५ मत परेको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादीका आठ जना सभा सदस्यमध्ये एक सभामुख रहेका छन ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएसँगै गण्डकीमा अब अर्को सरकार बन्ने छ । अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा २७ जना प्रदेशसभा सदस्य रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो ।