गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज शनिबार प्रदेश सभामा दोस्रो पटक विश्वासको मत लिने भएका छन् ।

दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कायसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् ।

समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

६० सदस्यीय प्रदेश सभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

यसअघि मुख्यमन्त्री अधिकारीले २९ पुसमा विश्वासको मत पाएका थिए ।

नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ मा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा गण्डकीको तेस्रो मुख्यमन्त्री बनेका थिए ।