प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सोमबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको बताए । उनले लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको जानकारी दिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया सुरु गर्ने कुरामा सहमति जनाएका थिए ।

संसद्को समितिहरू सञ्चालन र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्ग्याउने कुरामा छलफल भएको पनि लेखकले बताए ।