सुनौलाबजार नेवारपानी समाज काठमाडौंले नयाँ वर्षको शुभकामना आदानप्रदान र पात्रो विमोचनसँगै खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काङ्ग्रेस धादिङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरी समाजले पात्रो विमोचन साथै रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नयाँ वर्षको शुभकामना दिनुहुदै सांसद रामनाथ अधिकारीले समाजले गरेको सामाजिक कार्यको प्रशंसा व्यक्त गर्नुभयो । समाज स्थापनाको छोटो समयमानै धेरै कार्यहरु गर्न सफल भएको भन्दै उहाँले आगामी दिनहरुमा यस्ता कार्यलाई निरन्तरता दिदै जान सुझाव दिनुभयो ।

आफू पनि नेवारपानीकै माटोमा जन्मिएर आज यस स्थानमा आइपुग्न नेवारपानी समाजले ठूलो साथ र सहयोग गरेको भन्दै उहाँले आगामी दिनहरुमा पनि समाजसँगै हातेमालो गरेर समाज र जिल्लामा आइपर्ने समस्या समाधान गर्न आफू निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि केशव अधिकारीले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै संस्था स्थापना गरिसकेपछि सबैले सामाजिक उक्तदायित्वलाई पनि पुरा गर्नुपर्ने बताउँदै नेवारपानी समाजले गरेको कार्यप्रति आभार प्रकट गर्नुभयो ।
साथै उहाँले आगामी दिनहरुमा संस्थाको उन्नती, प्रगतिको कामना व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमका सभापति तथा समाजका कार्यवाहक अध्यक्ष शिवराज अधिकारीले सम्पुर्ण सुनौलाबजार वासीहरुलाई एकशुत्रमा बाध्नका लागि समाजको स्थापना गरी बेलाबेलामा सामाजिक कार्यहरु पनि गर्दै आएको र आगामी दिनमा पनि निरन्तर गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समाजका सचिव बैकुण्ठ दाहालले सांसद अधिकारीले समाज प्रति पु¥याएको योगदानका खुलेर प्रसंसा गर्नुभयो । उहाँले सांसद अधिकारीको ध्यानाकार्षण गराउँदै जन्मभूमीको लागि योगदान गर्दै विकासका कार्यहरु गर्न आग्रह गर्नुभयो ।

त्यस्तै समाजका अग्रज व्यक्तित्व तथा सल्लाहकार शिवराज दाहालले समाजले स्थापनाको छोटो समयमा नै थुप्रै सामाजिक कार्यहरु गर्न सफल भएको भन्दै प्रत्येक ६–६ महिनामा सामाजिक कार्यहरु गर्दै जान समाजका पदाधिकारीहरुलाई सुझाव दिनुभयो । साथै आगामी दिनहरुमा पनि समाजलाई आफूले भरपुर साथ र सहयोग गर्दै जाने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा आउनुभएका विभिन्न अतिथिहरुले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै समाजप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । साथै कार्यक्रमको संचालन समाजका सचिव दिनेश अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा पात्रो निर्माणका क्रममा विज्ञापन दिई साथ र सहयोग गर्ने विभिन्न संघ संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

सुनौलोबजार नेवारपानी धादिङ स्थाइ घरभइ राजधानी काठमाडौंलाई कर्मथलो बनाउँदै आएका सदस्यहरु एकजुट भई स्थापना गरेको यस संस्था ‘‘हाम्रो आत्मियता सामाजिक एकता’’ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै स्थापना भएको विशुद्ध सामाजिक संस्था हो । जिल्लाको विकास र समृद्धिका लागि स्थापनाकालदेखि नै लागिपरेको छ । साथै आगामी दिनहरुमा सम्पुर्ण जिल्लावासीहरु एकजुट भई समाज र राष्ट्रकै लागि सामाजिक कार्य गर्दै जाने प्रतिबद्धता समाजको रहेको छ ।

















