संखुवासभाको भोटखोला क्षेत्रका सकृय युवाहरुले भोटखोला युवा सरोकार मञ्च गठन गरेका छन् । आफ्नो ठाउँको बिकास आफ्नै हातमा भन्ने उद्धेश्यले भोटखोला क्षेत्रको बिकासकालागि युवाहरुको भूमिका आवश्यक भएको भन्दै युवाहरुले त्यस क्षेत्रमा सकरात्मक सहयोग गर्ने उद्धेश्यले सरोकार मञ्च गठन गरेका हुन् ।

मञ्चको प्रथम उपाध्यक्षमा गुठी बहादुर भोटे, द्धितिय उपाध्यक्षमा वाङज्या भोटे, तृतीय उपाध्यक्षमा लाक्पा तेन्जिङ शेर्पा रहेका छन । यस्तै महासचिवमा सुन्दर भोटे, सचिवमा सागर भोटे, कोषाध्यक्षमा फुर्पु लाचिक भोटे चयन भएका छन ।

संखुवासभाको चीनसंग सिमाना जोडिएको किम्माथांका नाका भोटखोला क्षेत्रमै पर्ने भएकाले उनीहरुले भोटखोला गाउपालिकाका ५ वटै वडाका युवाहरुलाई समावेश गरेर २४ सदस्यीय भोटखोला युवा सरोकार मञ्च गठन गरेका हुन् । युवा सरोकार समितिको अध्यक्षमा चेपुवाका युवा समाजसेवी माटुक लामा रहेका छन । युवाहरुले भोटखोला क्षेत्रको सडक, खानेपानी, बिद्युत, स्वास्थ्यलगायतका बिकासका मुद्धामा सरोकारवालाहरुलाई सहयोग गर्ने र बिकृतिका बिरुद्ध खवरदारी गर्ने बताएका छन् ।

बिकासको दृष्टिकोणले पछाडी परेपनि बिकासका प्रसस्त सम्भावना रहेको क्षेत्र हाइड्रोपावर अर्थात जलबिद्युतकालागि हबको रुपमा मानिन्छ । अहिले त्यस क्षेत्रमा तीनवटा हाईड्रोपावर निर्माणाधिन छन् । सबै हाईड्रोपावर बारे सरोकारवालाहरुसंग चासो र जानकारी राख्ने उनीहरुले बताएका छन् । भोटखोलाको बिकासमा एकता र भोटेसमूदायबीचको एकता सद्भाव युवाहरुको लक्ष्य रहेको छ ।

सामाजिक कामको सुरुवात गर्ने, युवाहरुबीच खेलुकद आयोजना र अन्य बिभिन्न कार्यक्रम गर्ने योजना छ उनीहरुको । युवा सरोकार मञ्चलाई राजनीतिबाट मुक्त राख्ने र भोटखोला मात्र नभई सिंगो जिल्लाको बिकासका नेतृत्व गर्ने उनीहरुको उद्धेश्य छ ।