चितवन क्षेत्र २ मा वैशाख १० गते हुन लागेको सङ्घीय उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ र नेकपा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन ।

कांग्रेसका उम्मेदवार श्रेष्ठले कांग्रेस चितवनका सभापति राजेश्वर खनालको प्रस्ताव र नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष रामचन्द्र अधिकारीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन । श्रेष्ठलाई माओवादीलगायतका सत्ता गठबन्धनको समर्थन छ ।

यस्तै, न्यौपानेको उम्मेदवारी दर्तामा प्रस्तावक एमाले नेता विजय सुवेदी र समर्थक एमाले नेता कृष्णभक्त पोख्रेल छन । यसअघि पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका थिए ।

बेलुका ५ बजेसम्म दर्ता हुने उम्मेदवारीमा अहिलेसम्म ६ जना स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी दर्ता भएको छ ।