नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि बोल्दै एमाले प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट बाहिरिने घोषणा गरेका हुन्।
उनले एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा रहने भन्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराए।
एमालेबाट थपलिया आर्थिक मामिला तथा योजना, एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य र केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छि विकास मन्त्री थिए।
पुस २५ गते एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले शुक्रबार दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
यसअघि माघ ३ गते पहिलोपटक विश्वासको मत लिँदा जम्कट्टेलले १ सय १० सदस्यीय प्रदेशसभामा १ सय ५ सांसदको समर्थन प्राप्त गरेका थिए। फागुन १३ गते राप्रपाले समर्थन फिर्ता लिएपछि उनले संविधानअनुसार दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।
उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ।








