राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।

सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन ।

यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बनेका थिए ।

शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले शपथ ग्रहण गरेलगत्तै शपथ पत्रमा हस्ताक्षर गरे ।

त्यसपछि उहाँलाई नेपाली सेनाले राष्ट्रपति सलामी अर्पण गरेको थियो । राष्ट्रपति सलामी सैनिक मञ्च टुँडिखेलबाट गरिएको थियो ।

त्यसको लगत्तै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पौडेललाई बधाई तथा सफलताको शुभकामना दिइन ।

यसैबीच निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण कार्यक्रमसँगै बिदाइ गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ, शीतल निवासबाट निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा सलामी अर्पण गरेको थियो । साथै निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।