देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए ।

संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुने व्यवस्था छ ।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उम्मेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने छ ।

उम्मेदवारी दर्ताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ ।

उपराष्ट्रपति निर्वाचनमा मतदाताको सङ्ख्या सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ कायम छ ।

सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिने जानकारी दिएको छ ।

यसैबीच उपराष्ट्रपतिको उम्मेदवार छान्नका लागि सत्ता गठबन्धन दलहरुको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ८ बजे बैठक बस्ने भएको हो ।

उता नेकपा एमालेले पनि उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न पार्टीको सचिवालय बैठक बोलाएको छ ।

एमाले सचिवालय बैठक ९ बजे च्यासलस्थित मुख्य कार्यालयमा बस्ने जनाइएको छ ।