सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिदैं छन ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त भएपछि ठुलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश प्रमुख देवराज जोशीले माघ २६ गते उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यद्यपि, यसअघि बहुमत नपुग्ने अवस्थाका कारण मुख्यमन्त्री शाहले विश्वासको मत लिने मिति तय गर्नमा ढिलाइ गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट नै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका शाहले विश्वासको मतपछि मन्त्रिपरिषद् सदस्य बढाउने तयारी गरेका छन । अहिले सरकारमा नेपाली काङ्ग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा (एकीकृत समाजवादी) बाट नरेशकुमार शाही आर्थिक मामिला तथा योजना मन्त्री छन ।

यसैबीच मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नेकपा (माओवादी केन्द्र) ले संसदीय दललाई निर्देशन दिएको छ ।

आइतबार सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए ।

शनिबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले नेपाली कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा छलफल नभएको भन्दै यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेको थियो ।