राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् ।

शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

चुनावअघिको पुरानो गठबन्धन ब्यूँतिएपछि शनिबार बिहान बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको थियो ।

कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने र आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ ।

परिवर्तित सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।