काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले एकतर्फि रुपमा ब्याज बढाएको भन्दै अहिले व्यवसायीहरु आन्दोलित भएका छन् ।

केहि समयअघिमात्र ८ प्रतिशत रहेको ब्याजदर अहिले बैंकहरुले बढाएर १६ प्रतिशत सम्म बनाउँदा त्यसको प्रत्यक्ष मार साना तथा मझौला व्यवसायीहरुले भोग्नुपरेको व्यवसायीहरुको भनाई छ ।

पटक पटक उत्तरी नाका बन्द हुँदा व्यापारीहरुका करोडौको सामान नाकामा नै अलपत्र अवस्थामा रहँदा ऋणको बोझ झन् झन् थपिदै गएपछि केहि व्यापारीहरुले आत्महत्याको बाटो समेत रोज्न बाध्य भएको व्यवसायीहरु स्मरण गर्छन् ।

बैंकहरुले व्यवसायीहरुलाई मर्का पर्ने गरी ब्याजदर बढाएका कारण त्यसका विरुद्ध आन्दोलित भई सडकमा उत्रिनुपरेको राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठ बताउँछन्  । ६–७ महिनाको अवधिमै बैंकहरुले ब्याजदर दोब्बर बनाउँदा व्यवसायीहरु ठूलो मारमा परेको उनको भनाइ छ ।

निम्न तथा मध्यम वर्गिय व्यवसायीहरुलाई राज्यले छुट्टै दायरामा राख्नुपर्ने भन्दै अध्यक्ष श्रेष्ठले भोलिका दिनमा बैंककै ब्याजदरका कारण कुनै पनि व्यवसायीले आत्मदाहको बाटो रोज्न बाध्य हुनुनपरोस् भन्दै सरकारको ध्यानाकार्षण गराए । सास रहेसम्म व्यवसायीका समस्याहरुलाई लिएर सरकारलाई घच्घच्याइरहने बताउँदै उनले सरकारले पनि व्यवसायीका जायज मागहरु चाँडोभन्दा चाँडो पुरा गरिदिनुपर्ने बताए ।

त्यस्तै संघका महासचिव बैकुण्ठ दाहालले अहिले व्यवसायीहरुको प्रमुख समस्या भनेको बैंकको चर्को ब्याजदर रहेको बताउँदै सरकारले ब्याजदरलाई एक अंकमा सीमित गर्नुपर्ने बताए ।

अहिले बैंकहरुमा ठूला व्यवसायीहरुले मात्रै ऋण पाउने गरेको भन्दै उनले साना व्यवसायीहरुले महिनौ धाउँदा पनि ऋण नपाउने समस्यालाई तत्काल हटाई समान ढंगको व्यवहार गर्न बैंकहरुलाई आग्रह गरे ।

लामो समय कोरोना, बाढिपहिरो, नाकाबन्दी जस्ता विभिन्न महामारीले थला परेको व्यवसाय भर्खरै मात्र माथि उठ्नै लाग्दा बैंकहरुले बढाएको अस्वभाविक ब्याजदरका कारण व्यापारीहरुमा निराशा छाएको छ । अहिले उनीहरुको प्रमुख समस्या भनेकै बैंकको चर्को ब्याजदर हो । त्यसकारण बेलैमा व्यापारी–व्यवसायीहरुका समस्याहरु समाधान गर्न सरकार नलागेमा प्रेमप्रसाद आचार्यको जस्तो घटना नबढलान भन्न सकिदैन ।