प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तेस्रो दीक्षान्त समारोहमा बोल्दै उनले संविधानले समाजवाद उन्मुख स्वास्थ्यको संकल्प लिएको बताउँदै आफूले त्यसलाई लागू गर्ने दाबी गरे।
प्रधानमन्त्री दाहालले नेपालको संविधान २०७२ ले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रूपमा व्यवस्था गरेको र त्यसका ऐन बनाई गृहकार्य र पहलकदमी गरिरहेको दावी समेत गरे।
कार्यक्रममा बोल्दै उनले दक्ष प्राविधिक जनशक्ति उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकता सम्बोधन हुने गरी अनुसन्धानको काम गर्न प्रतिष्ठानलाई निर्देशन दिएका छन ।
प्रधानमन्त्री दाहालले स्वास्थ्य क्षेत्रको पनि रचनात्मक एवम सकारात्मक प्रयास, सहयोग र प्रतिबद्धता जरुरी रहेको बताउदै भने, ‘वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो मुख्य लक्ष्य बनाएको छ। प्रतिष्ठानको नेतृत्व, आबद्ध चिकित्सकहरू, कर्मचारीहरू, आम सरोकारवाला निकाय र व्यक्तित्वको रचनात्मक एवम् सकारात्मक प्रयास, सहयोग र प्रतिबद्धता जरुरी छ।’
त्यसका लागि वर्तमान सरकार स्वास्थ्यमा सबै नागरिकहरूको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध भएकोसमेत उनले चर्चा गरे।
प्रधानमन्त्री दाहालले सरकारी अस्पतालमा रहेका स्वास्थ्य सामग्रीको दुरुपयोग हुन नदिन पनि प्रतिष्ठानका पदाधिकारीहरूलाई सचेत गराए। उनले जनगुनासो नआउने गरी सेवा प्रवाह चुस्तदुरुस्त बनाउन पनि सरकारी अस्पतालले जोड दिनुपर्ने बताए।








