नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

चिकित्सक डा.सुनिल केस्वानी, डा सन्दीप मिस्त्री र डा अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य छ । तर ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गर्ने मुम्बईमा रहेका कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए ।

नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र शरीरमा फ्लुडको मात्रा दोब्बर पार्ने चिकित्सकले जनाएका छन् । बिहान पहिलो र दिउँसो दोस्रो शल्यक्रिया गर्ने तयारी गरिएको नेता कँडेलले जानकारी दिए । नेपालमा उपचार सम्भव नभएपछि भण्डारीलाई नभएपछि बिहीबार दिउँसो भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टर लगिएको थियो ।

नेता भण्डारीको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो ।

आफ्नो निवासमा ग्यास लिक भई बुधबार राति आगलागी हुँदा सांसद भण्डारी र आमा हरिकला घाइते भएका थिए । उपचारकै क्रममा बिहीबार बिहान आमाको निधन भएको थियो।

नेता भण्डारीको अनुहार, दुवै हात र दुवै गोडामा गरी २५–३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।

-रासस