४ फागुन, काठमाडौँ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले हरेक बर्ष प्रदान गर्दै आएको वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत दुई जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

स्वर्गीय शुकदेव शाहको स्मृतिमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ति पुरस्कार त्रिभुवन विश्वबिद्यालयबाट पत्रकारिता तथा आम सन्चार विषयमा विद्यावारिधी (पिएचडी) गर्दै गर्नु भएका जगत नेपाल र पत्रकारिता तथा आम सन्चार बिषयमा त्रिभुवन विश्वबिद्यालयबाट दर्शनार्चाय (विद्यावारिधी एमफिल पिएचडी) गर्दै गर्नु भएका माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको इन्जा ग्लोबलका सचिव दीपक रिजालले बिहीबार प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता बिभागका प्रमुख चिरन्जिवी खनालको संयोजकत्वमा गठित समितिको निर्णय अुनसार इन्जाले वौद्धिक अनुसन्धानवृत्ति पुरस्कृति गर्ने घोषणा गरेको रिजालले बताएका छन ।

बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने नेपाल हाल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता बिभागमा उपप्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । २०५४ सालबाट पत्रकारिता शुरु गर्नु भएका नेपालले सुरूची साप्ताहिक, नेपालवाणी साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर टीभी लगायत विभिन्न सञ्चार माध्यममा नेतृत्वदायी भूमिकामा रहेर काम गर्नुभएको थियो । उहाँले हालसम्म ५ वटा पुस्तक प्रकाशित गरिसक्नु भएको छ ।

त्यसैगरी बौद्धिक अनुसन्धानवृत्तिबाट सम्मानित हुने तिवारीले २०५७ सालबाट पत्रकारिता शुरु गर्नु भएको थियो । भित्ते पत्रिकाबाट पत्रकारिता शुरु गर्नु भएका तिवारीले रुपरेखा साप्ताहिक, माउन्टेन टीभी, अनलाइनखबर डटकम, ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको प्रधानसम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

यसअघि इन्जाले उक्त पुरस्कारबाट त्रिभुवन विश्वविद्यालयको पत्रकारिता केन्द्रीय विभागका उपप्राध्यापक देवराज अर्याल र वरिष्ठ पत्रकार कपिल काफ्लेलाई प्रदान गर्ने निर्णय गरेको थियो । वौद्धिक अनुसन्धानवृत्ति पुरस्कार इन्जाको स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।