खोटाङ जिल्लाबाट काठमाडौँ आइ बसोबास गरिरहेका खोटाङेहरुको सामाजिक संस्था ‘खोटाङ हलेसी सेवा समाज’ को २०७९ माघ २८ गते शनिवार काठमाडौँमा सम्पन्न सातौँ साधारण सभाले इन्दा थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको निर्वाचन गरेको छ ।

काठमाडौँस्थित लाईसियम प्यारडाइज एकेडेमीमा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले नयाँ कार्यसमितिको सर्वसम्मतिले चयन गरेको हो ।

यस्तै साधारण सभाले प्रथम उपाध्यक्षमा विजय घिमिरे, द्वितीय उपाध्यक्षमा अर्जुन गैरपिप्ली, महासचिवमा सुरेन्द्र कटुवाल, सचिवमा परशु कटुवाल, कोषाध्यक्षमा कृष्ण लुइँटेल र सह कोषाध्यक्षमा सुब्बा कटुवाल चयन गरेको छ भने सदस्यहरूमा चन्द्रमणि घिमिरे, अमृत कटुवाल, मीन कार्की, कुमारबाबु बस्नेत, प्रेम के.सी र लक्ष्मी बस्नेत चयन भएका छन ।

साधारण सभाको उद्घाटन समारोहमा खोटाङ जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुका अलावा नगर तथा खोटाङका १० वटै गाउँपालिकाका प्रमुखहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

समारोहमा खोटाङबाट प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, खोटाङ हलेसी सेवा समाजको कार्यालय रहेको काठमाडौँ क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य सोविता गौतम, खोटाङ जिल्लाबाट आइ काठमाडौँ क्षेत्र नं ७ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद गणेश पराजुलीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी खोटाङको ऐँसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन राई, दिप्रङचुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईलाई सम्मान गरिएको थियो । खोटाङका अन्य गाउँपालिका अध्यक्ष र प्रतिनिधि सभा तथा प्रदेश सांसदहरूलाई पनि सम्मान गर्ने कार्यक्रम रहेकोमा कार्य व्यस्तताका कारण अनुपस्थित अध्यक्ष, प्रतिनिधि सभा तथा प्रदेश सांसदहरूलाई उहाँहरूको सम्मान पत्र उपलब्ध गराइने समेत कार्यक्रम जानकारी गराइएको थियो ।

कार्यक्रममा ओलम्पिक कमिटी सदस्य विमला पौडेल, समाजसेवी गोविन्द भट्टराई, वैदेशिक रोजगार व्यवसायी संघका सचिव कर्ण राज कटुवाल, प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवाल, अधिवक्ता देवराज कटुवाल न्यायाधीश परशु भट्टराई, कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर शान्ता थापा, प्राइम टेलिभिजनका प्रबन्धक गणेश थापालगायत करिब २ सय जनाको सहभागिता रहेको थियो ।