प्रविधिको विकाससँगै बैंकिङ प्रणालीमा समेत सहजता आउन थालेको छ । डिजिटल बैंकिङ इन्टरनेट आधारित बैंकिङ कारोबार प्रणाली हो ।

यसरी बैंकिङ कारोबार गर्ने ग्राहकको हिस्सा दिनप्रतिदिन बढ्दै गएको छ । कार्यालय समयमा पुग्नुै पर्ने र लामो लाइनमा बसेर कारोबार गर्नुपर्ने बाध्यताबाट समेत मुक्ति पाइने भएकाले मानिसहरु पछिल्लो समय डिजिटल बैंकिङ प्रणालीमा आकर्षित बन्दै गएका छन् । तर, डिजिटल बैंकिङ कारोबार जति सहज देखिन्छ त्यति नै चुनौतिपूर्ण पनि छ ।

साइबर सुरक्षा र प्रणालीमै ह्याकरहरुले सहजै पहुँच पु¥याएर ठूलो नोक्सानी गरिदिने भएकाले यसमा सचेतताको आवश्यकता समेत उत्तिकै टट्कारो छ ।

बैंकका ग्राहकहरूले स्मार्टफोन, ट्याब, ल्यापटप, डेस्कटप र एटीएम जस्ता डिजिटल उपकरणहरू मार्फत सजिलैसँग आफ्नो खाता र भुक्तानीमा पहुँच राख्न सक्छन् ।

डिजिटल बैंकिङमा डिजिटल वालेट, बैंक एप्स, कन्ट्याक्टलेस र नगद रहित भुक्तानीे हुने भएकाले यसको लोकप्रियता बढ्दो छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्त सम्ममा मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ताहरुको संख्या २ करोड बढी छ । इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या १७ लाख ६८ हजार पुगेको छ भने डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २२ लाख २२ हजार र क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या २ लाख ७६ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै विविध वालेट प्रयोगकर्ताहरुको संख्या १ करोड ५९ लाख ६२ हजार पुग्दा भुक्तानीको साधन कनेक्ट आइपीएस प्रयोगकर्ताहरुको संख्या ९ लाख ९४ हजार बढी रहेका छन् ।

डिजिटल बैंकिङ प्रणालीको प्रयोग र औचित्य कोभिड महामारीको अवधिमा झन् फस्टाएको देखिन्छ । कोरोना संक्रमणको डर र मानिस एकअर्काको सम्पर्कमा आउन नमिल्ने कारण पनि डिजिटल बैंकिङ प्रणालीका कारण ग्राहकले कारोबारमा सहजताका लागि यस्तो प्रणालीको प्रयोगलाई विश्वास गर्न थालेको देखिन्छ ।

वर्तमान समयमा प्रविधिको विकाससँगै त्यसका चुनौतीहरु पनि बढ्दै गइरहेका छन् । साइबर डकैती पनि त्यस्तै चुनौतीमध्येको एक हो । नेपालमा बैंक तथा वित्तिय क्षेत्रमा भएका विभिन्न साइबर सुरक्षासँग सम्बन्धित घटनाहरु समय समयमा बाहिरिने गरेका छन् ।

बैंक खातावालाको खाताबाट रकम गायव भएका घटना त कहिले एटिएम ह्याक गरेर रकम निकालिएका जस्ता विभिन्न घटनाहरु बाहिरिने गरेका छन् ।

त्यस्ता चुनौतिहरु अविकसित र विकासशील मुलुक मात्र नभई विकसित मुलुकका बैंक तथा वित्तीय संस्थामा पनि साइबर डकैतीका घटना सार्वजनिक हुँदै आएका छन् । नेपालको हकमा पछिल्लो समय साइबर सुरक्षाको विषयलाई लिएर बैंक तथा वित्त क्षेत्र तरंगित बन्न पुगेका छन् ।

लाखौं ग्राहकहरू र तिनीहरूको संवेदनशील डाटाको साथ, साइबर सुरक्षा आज वित्तीय क्षेत्रको सामना गर्ने सबैभन्दा महत्वपूर्ण मुद्दाहरू मध्ये एक हो । विभिन्न प्रकारका साइबर खतराहरूसँग लड्नको लागि, बैंक तथा वित्तीय संस्थाहरु सक्रिय रूपमा सतर्क रहन आवश्यक छ ।