सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका छन ।

प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि रावल पदमुक्त भएका हुन । मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएको सभामुखले घोषणा गरेका थिए ।

विश्वासको मत पाउन निर्णायक भनिएको नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाएनन ।

रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

मुख्यमन्त्रीले विश्वासको मत नपाएपछि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

उनलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । आज बेलुकी मुख्यमन्त्रीमा नियुक्त भएका शाहले भोलि पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेपाली कांग्रेसका संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।