राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयको सम्बन्धमा निर्णय गर्न दुई दिनको समय दिएको छ ।

बसुन्धरास्थित पार्टी कार्यालयमा आज साँझ बसेको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले गृह मन्त्रालय रास्वपालाई नै दिने वा नदिने भन्नेबारे निर्णय गर्न प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकलाई दुई दिनको समय दिने निर्णय गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

प्रवक्ता ढकालले भने, ‘‘हामो पार्टीको संयुक्त बैठक चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको फोन आएको छ, उहाँहरूले उच्चस्तरीय राजनीतिक समितिको बैठक बसेर छलफल गरौं, त्यसका लागि दुई दिन समय दिन भन्नुभएको छ, त्यसैले आजको बैठकले कु्नै राजनीतिक निर्णय गरेको छैन ।’’

उनले राजनीतिक सहयोग र सहकार्यको इमान्दारितालाई पूरा गर्न प्रधानमन्त्रीले २ दिनको समय मागेको बताए । उनले राजनीतिक इमान्दारितालाई ध्यानमा राखेर पार्टीसँग सहमति भएअनुसारको सहमति कार्यान्वयन भए गठबन्धनमा रही रहने नत्र २ दिनपछि पुनः बैठक बसेर आवश्यक निर्णय लिने बताए ।

बैठकमा अधिकांश नेताहरुले हठातमा निर्णय गरेर पछुताउनु नहुने सुझाव दिएका उनले बताए ।

पत्रकारहरूको जिज्ञासामा प्रवक्ता ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको गृह मन्त्रालय हाम्रै पार्टीले पाउनुपर्छ भन्नेमा पार्टीको अडान कायमै रहेको बताए । यसअघि सो पार्टी सरकारबाट बाहिरिँदैछ भन्ने चर्चा पनि चलेको थियो ।