कर्णाली प्रदेशका नवनियुक्त ४ मन्त्रीहरूले शपथ लिएका छन् ।
बुधबार प्रदेश प्रमुखले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिमप्रकाश शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण जिसी, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
अरू दुई जना आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह र भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्री मंगलबहादुर शाहीले पुस २८ गते नै शपथ लिइसकेका थिए। उनीहरूलाई पुस २८ गते मुख्यमन्त्री राजकुमार शर्माले तत्कालका लागि बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरेका थिए।
बुधबार नयाँ मन्त्री नियुक्तिसँगै बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त भएका दुई जनालाई मन्त्रालयको जिम्मेवारी दिइएको हो।
कर्णाली प्रदेशमा मन्त्रालयको संख्या घटाएपछि मन्त्रिपरिषदले पनि पूर्णता पाएको छ।
पुस २७ गते भएको सहमतिअनुसार कर्णालीमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित चार वटा र नेकपा एमालेले तीन वटा मन्त्रालयका पाएका छन्।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा पुस २७ गते नियुक्त भएका थिए।
उनले पुस २८ गते पद तथा गोपनीयताको शपथ लिएका थिए भने माघ ६ गते प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।
कर्णाली प्रदेशमा यसअघि ८ वटा मन्त्रालय थिए। पुस २७ गते सत्ता साझेदार दलहरूबीच मन्त्रालयको संख्या घटाएर ७ बनाउने सहमति भएको थियो।
सोमबारको मन्त्रिपरिषद बैठकले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभेर भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय बनाइएको छ।








