नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी देशैभर भब्यसँग मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास अनुसार आज विहानैबाट पशुपतिनाथको मन्दिरलगायत देशभरका शिवालयमा टुलो भिड लागेको छ ।
तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ
अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बसेर शिवको पूजा गर्ने परम्परा छ । भाद्र शुक्ल द्वितीयाका दिन गए राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सबै महिलालाई तीज पर्वको शुभकामना दिएका छन् । तीजमा महिलाका लागि सरकारले सार्वजनिक बिदा दिएको छ ।








