ललितपुर — राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा माननीय जगदीश खरेलले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले अर्को ऐतिहासिक सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन । त्यसका लागि जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर सुदृढ बनाउँदै लैजानुपर्नेमा उनले जोड दिएका छन ।
बडादसैँ, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी, ललितपुर महानगरपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै प्रवक्ता खरेलले आगामी निर्वाचनको तयारीमा अहिलेदेखि नै जुट्नुपर्ने बताएका हुन ।
उनले फागुन २१ गतेको निर्वाचनमा प्राप्त सफलतालाई मात्र आधार मानेर बस्न नहुने उल्लेख गर्दै आगामी स्थानीय तहको निर्वाचनमा थप ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्यसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन ।

प्रवक्ता खरेलले वर्तमान सरकारको कामबाट जनता आशावादी, खुसी र सन्तुष्ट रहेको बताएका छन । सरकारले सुशासनका क्षेत्रमा गरेका काम तथा उपलब्धिहरू जनतासमक्ष पुर्याउन पार्टी सफल भएको उल्लेख गर्दै उनले अझै धेरै काम गर्न बाँकी रहेको पनि स्पष्ट पारेका छन ।
सरकारका कामबाट जनतामा उत्साह बढेको र पार्टीका नेता तथा कार्यकर्ताको मनोबलसमेत उच्च भएको उनको भनाइ छ।
आगामी निर्वाचनको तयारीका लागि दुई विषयलाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले पहिलो, जनतासँगको सम्बन्ध र सम्पर्कलाई निरन्तर कायम राख्नुपर्ने बताएका छन । जनतासँगको सम्बन्धमा कुनै पनि किसिमको कमजोरी आउन दिन नहुनेमा जोड दिँदै उनले जनताका आवश्यकता, अपेक्षा र गुनासालाई नजिकबाट बुझेर अघि बढ्नुपर्ने धारणा राखेका छन ।

त्यसैगरी, उम्मेदवार छनोट प्रक्रियाका सम्बन्धमा आफ्नो धारणा राख्दै प्रवक्ता खरेलले नेताको व्यक्तिगत तजबिज वा पहुँचका आधारमा उम्मेदवारलाई टिकट दिने परिपाटी अन्त्य भइसकेको बताएका छन । उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, व्यवस्थित र योग्यतामा आधारित बनाउनुपर्ने सन्देश दिँदै उनले आगामी निर्वाचनका लागि पार्टीले स्पष्ट योजनासहित अघि बढ्नुपर्नेमा जोड दिएका छन।
उनका अनुसार सरकारका काम जनतासमक्ष पुर्याउने, जनतासँगको सम्बन्धलाई थप बलियो बनाउने र सङ्गठनको मनोबल उच्च राख्ने कार्यले आगामी निर्वाचनमा पार्टीको सफलताको आधार तयार गर्नेछ।
कार्यक्रममा चाडपर्वको शुभकामना आदानप्रदानसँगै सरकारका काम, पार्टीको सङ्गठनात्मक अवस्था तथा आगामी स्थानीय तहको निर्वाचनको तयारीका विषयमा समेत चर्चा गरिएको थियो।








