साउदी अरबमा हज गर्न जाने यात्रीबाट अनधिकृत रकम नलिएको दावी

news-details

नेपाल हज समितिले हज गर्न जाने यात्रीबाट कुनै पनि अनधिकृत रकम नलिएको दाबी गरेको छ ।

नेपाल हज समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अनधिकृत रकम असुलेको र भ्रष्टाचार गरेको ठहर भए कारबाही भोग्न तयार रहेको जनाएको हो । हाजीहरुबाट बढी रकम असुलेको आरोप लागेपछि समितिले पत्रकार सम्मेलनमार्फत स्पष्टीकरण दिएको हो ।

प्रत्येक वर्ष गृह र परराष्ट्र मन्त्रालयमार्फत हज समितिले साउदी अरबमा नेपाली हाजीलाई हजका लागि पठाउँदै आएको छ । यस वर्ष पनि नेपाल हज समितिले १२ सय हज यात्रीलाई साउदी पठाउने निर्णय गरेको छ ।

समितिका अध्यक्ष शमशेर मियाँले यस वर्ष साउदी सरकारले नै हाजीको कुल खर्चमा ५ हजार रुपैयाँले वृद्धि गरेको जानकारी दिए । उनले नेपाल हज समितिका तर्फबाट कुनै बढी शुल्क नलिएको र विगत वर्षभन्दा हाजीहरुका लागि राम्रो व्यवस्थापन गरिएको पनि बताए ।

समितिका उपाध्यक्ष नजिबुल्लाह अन्सारीले ई–ब्रिडिङ प्रक्रियाबाट गत वर्षभन्दा सस्तो मूल्यमा एयर अरेबियासँग हवाई सम्झौता गरेको बताए । हज गर्न जाने यात्रीको संख्या बढाउने आश्वासन साउदी सरकारले दिए पनि यो वर्ष नबढाएकाले सबै हाजीलाई पठाउन नसकिएको उनको भनाइ थियो ।

समितिले साउनको पहिलो हप्ताभित्रै सबै हाजीलाई मक्का पठाईसक्ने जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *