निबन्धकार नयाँघरेले गरे थाई नेपाली ‘आदर्श’ पुस्तकालयको अवलोकन
- बैशाख ८, २०८२
- 0

थाइल्यान्ड भ्रमणमा रहेका निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेले थाई नेपाली ‘आदर्श’ पुस्तकालयको अवलोकन गरेका छन् ।
थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभागद्वारा ‘सियेकवान्खेक’मा स्थापित आदर्श पुस्तकालयमा पुगी मदन पुरस्कार बिजेता नयाँघरेले थाइल्यान्डको नेपाली समाज र युवा साहित्यप्रेमीसँग छोटो भलाकुसारी गरेका हुन् ।
थाइल्यान्डमा नेपाली पुस्तकालयको स्थापना गरी नेपाली ‘भाषा—साहित्य’मा रुचिकर प्रवासी नेपाली विद्यार्थीहरूलाई सहजरूपमा पुस्तक अध्ययन गर्ने सुविधा प्रदान गरेको भन्दै उनले प्रंशसा पनि गरे ।
पुस्तकालयको अवलोकन गर्न ‘सामाजिक भवन’ पुगेका नयाँघरेलाई साहित्य मन थाइल्यान्डका अध्यक्ष तथा थाई नेपाली संघ, बैंकक शाखा शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपानेले स्वागत गरेका थिए ।
‘आदर्श’ पुस्तकालयका पदाधिकारी तथा साहित्य मनका पदाधिकारीहरूले पुस्तकालयको अवलोकन गर्ने क्रममा नयाँघरेबाट थप सल्लाह मागेका थिए ।
त्यस्तै, नेपालबाट लैजानसक्ने नेपाली साहित्यका उपयोगी पुस्तकबारे छलफल समेत गरे। थाइल्यान्डमा रहेको नेपाली समुदायमाझ नेपाली भाषा—साहित्यको विकास गर्ने उदेश्यले पुस्तकालय स्थापना गरिएको साहित्य मन थाइल्यान्डका अध्यक्ष न्यौपानेले बताएका छन् ।
‘आदर्श’ पुस्तकालयको प्रबद्र्धनमा थाई नेपाली संघ बैंकक शाखाका अध्यक्ष रामकुमार ढुंगानासहित शिक्षा विभाग प्रमुख ओमप्रकाश न्यौपाने र साहित्य मनका पदाधिकारीहरू दीपा राना, डेविड् अल्विन राउत, राज पौड्याल, रविचन्द्र अधिकारीलगायत खटिएका छन् ।