लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको उपन्यास ‘फरैना’ सार्वजनिक

news-details

सङ्गीतमार्फत श्रोता/दर्शकको मन जित्न सफल सन्तोष श्रेष्ठले पहिलो उपन्यास  ‘फरैना’ पाठकमाझ लिएर आएका छन् । शुक्रबार काठमाडौंमा एक विशेष सामारोहबीच उनको उपन्यास कृति ‘फरैना’ विमोचन गरिएको हो ।

सांसद शान्ता चौधरी, गीतकार डा। कृष्णहरि बराल, संविधानविद्, गायक तथा साहित्यकार डा। भीमार्जुन आचार्य र नायक राजेश हमाल अनि उपन्यासकार श्रेष्ठले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका हुन् । गीत सङ्गीत, साहित्य र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको विमोचन समारोहमा सांसद चौधरीले कमलरी प्रथाको बारेमा गहिराइमा पुगेर लेखिएको उपन्यासले आफ्नै कथा, विषयवस्तु उठाएको जस्तो लागेको टिप्पणी गरे।

‘यो उपन्यासका हरेक पानाहरू पढ्दै जाँदा आफ्नो अतितका दिनहरूमा फर्कन बाध्य भएँ, जुन कुराहरू म बिर्सन कोशिस गरिरहेको हुन्छु ।’ सांसद चौधरीले भने, ‘सन्तोष श्रेष्ठले हैन कि कोही सन्तोष थारुले लेखेको जस्तो महसुस भयो ।’ यस्तै, डा। कृष्णहरि बरालले प्रकृतिको सुन्दर चित्रणसहित मानवीय संवेदनालाई यस उपन्यासले जबर्जस्त प्रस्तुत गरेको बताउँदै गायक र सङ्गीतकारका रुपमा उचाईमा पुगेको सन्तोषको व्यक्तित्वमा अब उपन्यासकार जोडिएको बधाई तथा शुभकामना दिए ।

त्यस्तै, डा। भिमार्जुन आचार्यले बनोट र बुनोटका हिसाबले हेर्दा अत्यन्त माझिएको अभिव्यक्तिले फरैना पठनीय बनेको टिप्पणी गरे । त्यसैगरी, महानायक राजेश हमालले यस कृतिमा संवेदनलाई सरलीकरण गरिएको सुन्दर नमुना यस उपन्यासको विशेयाता रहेको जिकिर गरे । कृतिकार श्रेष्ठले आफनो मानसपटलमा लामो समयदेखि सलबलाएको चेतनाले आख्यानको यो आकार ग्रहण गरेको बताए ।

‘यसलाई मैले आफ्नो संवेदनाको प्रतिरूप मानेको छु’, उनले भने । उनले सानैदेखि देखेको विकृति, विसङ्गतिलाई उपन्यासमा उतार्न सफल भएकोमा खुसी व्यक्त गरे । कोरोना महामारीका कारण भएको बन्दाबन्दीको समयमा उपन्यास लेखेको अनुभव उनले सुनाउए । थारु समुदायमा वर्षौँसम्म कुप्रथाको रुपमा रहेको कमलरी, त्यसभित्रका दुख, पीडा, किशोरावस्थाका सपना र सफलताका लागि आवश्यक अठोट उपन्यासका मूल विषयवस्तु छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *