रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ सार्वजनिक

news-details

काठमाडौं। कवि तथा निबन्धकार रञ्जना निरौलाको नवीन निबन्धसंग्रह ‘अनुभूतिको अवतरण’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा शिखा बुक्स र राष्ट्रिको साहित्य प्रतिष्ठानको आयोजनामा एक कार्यक्रममाझ डा. वासुदेव त्रिवाठी, डा. ज्ञानु पाण्डे, डा. रामप्रसाद ज्ञावली लगायतले उक्त कृति सार्वजनिक गर्नुभयाे ।

 

लोकार्पण कार्यक्रममा पुस्तकबारे बोल्दै डा. वासुदेव त्रिपाठीले देवकोटाले दिएको निबन्धको उचाइसम्म पुग्न कोही पनि नसकेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘अनुभूतिको अवतरण निबन्ध जगतमा शुभसंकेत हो । प्रत्येक अनुच्छेदका अन्त्य सूक्तिमय भएर टुंगिएका छन् । चालिस वर्ष पाठ्यक्रम निर्माणका क्रममा बसेँ, थुप्रै निबन्धसंग्रह हेर्दा दुइटा सूक्ति भेटिन पनि गाह्रो हुन्थ्यो । यो निबन्धसंग्रह सूक्तिमय छ । हरेक अनुच्छेदमा सूक्ति भेटिन्छ ।’ उहाँले कविताबाट प्रारम्भ भएको निबन्धभित्र  विचार, स्वैरकल्पना नभएको कथा छ र दर्शन रहेकाे समेत बताउनुभयाे ।

यसैगरी समीक्षक डा. ज्ञानु पाण्डेले दर्शन, विचार र यथार्थको कलात्मक संगम रञ्जनाका निबन्धमा रहेको बताउनुभयो ।

डा.रामप्रसाद ज्ञावलीले सौन्दर्यप्रधान, दर्शन र आध्यात्मको त्रिवेणीमा परिपक्व अनुभूतिका अभिव्यक्ति निबन्धमा रहेको बताउनुभयो ।

यसैगरी, डा. सावित्री मल्ल कक्षपतीले उक्त संग्रहका निबन्धहरु यथार्थपरक रहेको कुरा व्यक्त गर्नु भएको थियो ।

साहित्यकार सुमन वर्षाद्वारा सञ्चालित कार्यक्रम शिखा बुक्सका पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य रु. ३५०/- रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *