तिहार : उज्यालो र उमंगको पर्व

news-details

तिहार, उज्यालो पर्वका रुपमा परिचित चाड । पाँच दिन मनाइने तिहारको प्रत्येक दिनको फरक फरक महत्व र सन्देश ।

यसबर्ष पनि मौसमको खुल्लापनसँगै भित्रिएको छ आँगनमा, गल्ली, चोक र बजारहरुमा । जहाँ तिहार आएको प्रत्यक्ष आँखामा मात्र होइन, मनमा अनुभुति हुन्छ । सडक, बजारहरुमा मानिसहरुको भीड, सडक छेउहरुमा समेत तिहारका लागि टीका, रुमाल, अरु सामग्रीको किनबेच । दिदीबहिनी र दाजुभाईहरुको आगमनको लहर । पूर्ववत तयारी, कुराकानी र भेटघाट । जसले छुट्टै तिहारको रौनकता आएको आभाष दिलाउछ । अझ तिहारको रौनकतामा परम्परादेखि खेलिने देउसी भैलोले शहर बजार गुञ्जयमान हुन थालेका छन् । गाउँहरुमा पनि मादलको तालसँगैका नाँच र पुख्यौंली देउसी भैलो बिभिन्न उद्धेश्य राखेर सञ्चालन भएका छन् ।

तिहारको ऐतिहासिकतासँग मर्मस्पर्शी कथन छः– सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई रमाइलो मनाएको हुँदा यी पाँच दिनलाई यमपञ्चक मानिएको कुरा हिन्दू शास्त्रमा उल्लेख छ । यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “जे मन लाग्छ वर माग“ भन्दा यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस“ भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्ध चित्तले यस प्रकारसँग भ्रातृ पूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भई गएको र यसरी प्राचीन काल देखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मानिँदै आएको परम्परा छ ।

तिहारका क्रममा मनाइने काग पुजा, कुकुर पुजा, गाई गोरु पुजाले एकातिर मानव र पशुपंक्षीबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्काे तिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले छर्लङ्ग पार्दछ । यसर्थ तिहारको आफ्नै मौलिकता र महत्व समाजमा आजको दिनमा पनि बढ्दो क्रममा छ ।

तिहार विशेषतः नेपाली हिन्दूहरूको दोस्रो ठूलो पर्व मध्ये एक हो । दशैंसँगै आउने यस पर्वसँग पनि यस्तो शक्ति र महिमा छ । जसका कारण बिभिन्न रहर, बाध्यता, परिवन्द, आंकाक्षाहरुले परदेशिएकादेखि घरदेशमै भौगोलिक रुपमा टाढा भएकाहरुलाई पनि आफ्ना दाजुभाई या दिदीबहिनी र आफन्त सम्म पु¥याउने सामथ्र्य राख्छ । दशैं, तिहार जस्ता महान पर्वहरु नभएको भए सायदै मानिसहरु आफ्नो घर, परिवार, दिदीबहिनी, दाजुभाई बीचको सम्बन्ध र भेटघाट पनि प्रविधिमा खुम्चेर सिमित हुँदो हो । किनकी अहिले बालकदेखि बृद्ध सम्मका मानिसलाई पैसा र प्रविधिको मोहले यसरी नियन्त्रण गरेको छ की जहाँबाट उनीहरु निक्लिन सहज अवस्था देखिन्न । अतः यस्ता पर्वहरुको ऐतिहासिकता, महत्वलाई अझै बढावा दिने गरि मनाउन आवश्यक छ ।

हरेक बर्ष मनाइने चाडपर्वको सँस्कृति, परम्पराकोे निरन्तरता मात्र होइन, यसले व्यक्ति व्यक्ति, परिवार, समाज, देश र दायित्व सम्झाउन अभुतपूर्व भुमिका खेलेको छ ।

हाम्रा सुभेच्छुक, सहयोगी तथा हामीलाई साथ दिने सम्पुर्णमा तिहार २०७८ को शुभकामना ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *