‘आइएमई नेपाल लिटरेचर फेस्टिभल’ जनकपुर र पोखरामा हुदै

news-details

आइएमई नेपाल लिटरचेर फेस्टिभलको आठौँ संस्करण आउँदो मंसिर २७ गतेदेखि ३० गतेसम्म पोखरामा हुने भएको छ भने कात्तिक १७ र १८ गते जनकपुरमा पनि साहित्य महोत्सव हुने भएको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी बुकवर्म फाउन्डेसनले उक्त कुराको जानकारी दिएको हो । फेस्टिभलका अघिल्ला संस्करणमा झैं यस वर्ष पनि एक सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक, तीन दर्जन बढी सेसन र थप रोचक सामग्री समावेश गरिनेछन् ।

यस वर्ष हुने आठौँ संस्करणको साहित्य महोत्सवमा भारतीय लोकसभाका सांसद एवं लोकप्रिय साहित्यकार डा शशी थरुर, भारतीय प्रसिद्ध गीतकार एवं कवि जाभेद अख्तर, भारतीय अभिनेत्री शबना आज्मीलगायत चर्चित अन्तर्राष्ट्रिय हस्तीहरूका साथै देशविदेशका १ सय ५० भन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ ।

यस वर्ष महोत्सवमा दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवं गरिमामय डिएससी पुरस्कार प्रदान गर्न लागिएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको उक्त पुरस्कार वितरण दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो ।

आइएमई नेपाल लिटरेचर फेस्टिभलका निर्देशक अजित बराल भन्छन्, ‘डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रूपमा उभ्याउन मद्दत पुर्‍याउनेछ ।’

नेपाल साहित्य महोत्सवसँगको सहकार्यलाई लिएर दक्षिण एसियाली साहित्य, डिएससी पुरस्कारकी सहसंस्थापक सुरिना नरुलाले आइएमई नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताइन् । उनले पोखराको सुन्दर सहरमा सम्पन्न हुने आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१९ मा हामी यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्न लागेको जानकारी दिइन् ।

‘पुरस्कार र फेस्टिभल दुवैले दक्षिण एसियाली साहित्यलाई प्रवर्द्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएका छौँ । दक्षिण एसियाली साहित्यलाई विश्वसामु साक्षात्कार गराउनु हाम्रो प्रमुख उद्देश्य हो’, उनले भनिन्, ‘विगत आठ वर्षदेखि दक्षिण एसियाली लेखनलाई निरन्तर पवर्द्धन गर्दै आएको डिएससी पुरस्कार प्रत्येक वर्ष फरकफरक दक्षिण एसियाली देशहरूमा वितरण हुने रोलक्रम अनुसार यस वर्ष नेपाल लिटरेचर फेस्टिभलमा घोषणा गर्न लागिएको हो ।’

डिसेम्बरमा हुन लागेको फेस्टिभलले नेपाल भ्रमण वर्षलाई पनि सघाउने विश्वास लिएको नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले बताइन् । काठमाडौंभन्दा बाहिर गएर पनि सफल भएको महत्वपूर्ण कार्यक्रम नेपाल लिटरेचर फेस्टिभल रहेको उनले बताइन् । ‘यसले पोखरालाई ब्रान्डिङमा मात्र सघाएको छैन, पोखरालाई बौद्धिक गन्तव्य बनाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ उनले भनिन् ।

जनकपुर र पोखरामा आयोजना हुने आइएमई लिटरेचर फेस्टिभलले नेपाल भ्रमण वर्ष २०२० लाई सार्थक बनाउन टेवा पुर्‍याउने नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै प्रदेश सरकार र सरोकारवालाहरूको पहलमा सांस्कृतिक एवं ऐतिहासिक सहर जनकपुरमा पनि आउँदो कात्तिक १७ र १८ गते साहित्य महोत्सव सम्पन्न हुने जानकारी घोषणा गरिएको थियो ।

नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। साथै आइएमईले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको कला, साहित्य, गीत आदि क्षेत्रमा आफ्नो सहभागिता जनाइरहेको र आगामी दिनमा पनि फेस्टिभलसँग सहकार्य जारी रहने उनले बताए ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *