रमण घिमिरेको ‘आँखीझ्याल’ सार्वजनिक

news-details

लेखक एवं पत्रकार रमण घिमिरेको पुस्तक ‘आँखीझ्याल’ सार्वजनिक भएको छ । कला, संगीत र साहित्य विधाका १३ जना बरिष्ठ सर्जकका जीवनी सन्दर्भ समेटिएको पुस्तक मञ्जरी पब्लिकेशनले बजारमा ल्याएको हो ।

पुस्तकमा अम्बर गुरुङ, ईश्वरवल्लव, कमलमणि दीक्षित, क्षेत्रप्रताप अधिकारी, जगदीश घिमिरे, डायमनशमशेर राणा, पेमाला गुरुवाचार्यका सन्दर्भहरु उल्लेख छन् । निबन्धात्मक शैलीमा लेखिएको पुस्तकमा फत्तेमान, भीम विराग, भीमबहादुर थापा, माणिकरत्न, रामशरण दर्नाल तथा राममान तृषित पनि समेटिएका छन् ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नाटककार अशेष मल्ले ‘आँखीझ्याल’ कलात्मका लेखनको उत्तम नमुना भएको बताए । समीक्षक शेखर खरेलले पुस्तकले पाठकलाई पुरानो स्मृतिमा पुर्याउनले उल्लेख गरे । ‘आँखीझ्याल’ सर्जकप्रति समर्पणको रूपमा आएको उनको भनाइ थियो । सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले पुस्तकले एउटा कालखन्डको स्मरण गराउने बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै लेखक रमण घिमिरेले राष्ट्रले सम्मान गरेका पुराना सर्जकबारे बुझ्न सजिलो होस् भनेर आफूले पुस्तक तयार पारेको जनाए । ‘पुस्तकमा समेटिएका व्यक्तित्वहरुमध्ये धेरैसँग अनेकौं पटक भेट्ने अवसर पाएको थिएँ । तिनका जीवन भोगाइका स–सना सन्दर्भ रहस्योद्घाटन हुँदा मनमा एक किसिमको तरंग उठ्यो’, उनले भने, ‘ती तरंगहरुले मेरो मन छोए । लेख्न घचघच्याए ।’

सर्जकहरुका अनौठा आनीबानी र अन्तर्यहरु समेटिएको पुस्तकको बजार मूल्य २३५ रुपैयाँ रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *