साहित्यवार्ता : ‘नेपाली साहित्य विश्वस्तरमा पुग्ने कुरा असम्भव होइन’- गोपाल पौडेल

news-details

साहित्यकार गोपाल पौडेल समर्पित स्रष्टा हुनुहुन्छ । फुटकर लेखनसँगै कथाभित्रको कथा कृति उहाँको आइसकेको छ । पिता वीरबहादुर पौडेल र माता दिर्गामाया पौडेलको कोखबाट जन्मनुभएका साहित्यकार पौडेल समाजसेवामा पनि प्रतिबद्ध हुनुहुन्छ । लेखनलाई सामाजिक विषयको गहिरो अध्ययन मान्ने उहाँ समाजकै सेरोफेरोमा लेख्न र चिन्तन गर्न रुचाउनु हुन्छ । प्रस्तुत छ, लेखन र सिर्जनाबारे साहित्यकार पौडेलसँग गरिएको वार्ता—

तपाईंलाई मन पर्ने विधा कुन हो ?

मेरो मन पर्ने विधा कविता हो । मलाई यसमा पोखिन आनन्द आउँछ ।

कविता लेख्दा कस्ता विषय छान्नु हुन्छ ?

कविता लेख्दा विशेष गरेर सामाजिक, राजनीतिक व्यवस्थापन र परिवर्तनका धारमा रहेर लेख्न म मन पराउँछु ।

संस्मरण र उपन्यास विधामा पनि रुचि छ तपाईंको । कसरी आकर्षित हुनु भो यो विधामा ?

उपन्यास त सानैबाट खोजीखोजी पढ्ने लत बसेको थियो । संस्मरणको हकमा चाँहि शरणार्थी क्याम्प छोडेर न्यूजिल्याण्ड आउने क्रममा हवाइजाजबाट अकल्पनीय दृश्यहरु देख्दै आएँ । मनमा हरेक कुराहरु खेलाउदै आएँ । त्यही दृश्यले संस्मरणको बीजारोपण गरिदियो । फलस्वरुप कथाभित्रको कथा नामक संस्मरण कृति जन्मियो ।

साहित्य र समाज सेवाको सन्तुलन कसरी गरिरहनु भएको छ ?

साहित्य र समाज एक अर्काका दर्पण हुन् । समाजको यथार्थ नबुझी या समाजभित्र नपसी लेखेको साहित्यभन्दा समाजसँग उठ–बस गर्दै लेखेको साहित्यको रस फरक र अलिक विशेष हुन्छ । मैले लेख्ने साहित्यमा पनि प्रायः समाजसँगै सम्बन्धित रहने भएको हुँदा म समाजसँग सहयात्रा गर्दै साहित्यमा कलम चलाउने गर्छु । सधैँ सहज पनि हुँदैन, कहिलेकाँही चुनौती पनि आउने गर्छ । त्यसमा आवश्यकताको आधारमा प्राथमिकता दिने गर्छु ।

नेपाली साहित्य कत्तिको अध्ययन गर्नु हुन्छ ?

मेरो बुझाइमा साहित्य भनेको लेखनभन्दा अध्ययन बढी हुनुपर्छ । अध्ययन जति बढी गर्न सकिन्छ त्यति नै भाषिक शुध्दता हुनुका साथै लेख्ने क्षमता र इच्छा शक्ति बढ्दै जाने हो । त्यसले म प्रायः समय मिलाएर विभिन्न विधा र लेखकका पुस्तकहरु पढ्ने गर्छु ।

नेपाली साहित्यको कुन विधा समृद्ध लागिरहेको छ ?

सबै विधाको आ–आफ्नो महत्व र अस्तित्व हुने भएको हुँदा अहिले कुन चाँहि समृद्ध छ भनेर भन्नुभन्दा पनि मलाई चाँहि कविता र उपन्यास मनपर्छ भन्दा अत्युक्ति नहोला ।

तपाईं नेपाल बाहिर रहेर समाज सेवा र साहित्यमा क्रियाशील हुनुहुन्छ । कस्ता साहित्य नेपाल बाहिर मन पराइने देख्नु हुन्छ ?

नेपाल बाहिर रहेर पनि समाज सेवादेखि नेपाली भाषामा कलम चलाउने म जस्ता धेरै साहित्यकार स्रष्टाहरु क्रियाशील हुनुहुन्छ । यसमा आ–आफ्नो इच्छा अनुसार स्रष्टा तथा पाठकले पुस्तकहरु पढ्ने गर्छन् । मेरो अनुभवमा धेरै जनाले उपन्यासलाई अलि बढी रूचाएको देख्छु ।

नेपाली साहित्य विश्व साहित्यको स्तरमा पुग्ने कुनै संभावना देख्नु हुन्छ ?

नेपाली भाषा विश्व स्तरमा पुग्ने कुरा असम्भव भने होइन । तर धेरै मेहनत गरिनुपर्छ भन्ने कुरामा दुई मत छैन । चाहे त्यो स्तरीय लेखनमा होस् या प्रचार प्रसारमा होस् । ढिलोचाँडो नेपाली साहित्य विश्व स्तरमा पुग्ने आधार म देखिरहेको छु ।

न्यूजिल्यान्डमा कस्तो छ नेपाली साहित्य र समाजको अवस्था ?

न्यूजिल्याण्डमा नेपाली साहित्यको अवस्था ठिक्कै छ भन्नु पर्छ । तर तितो सत्य चाँहि के हो भने जुन स्तरमा हुनुपर्ने हो त्यो चाँहि भएको छैन । यसका केही कारणहरु मध्ये, बच्चाले अंग्रेजी स्कुलमै सिक्छ । त्यसलाई घरमा सिकाइरहन जरुरत छैन भन्ने कुरा स्वीकार नगर्नु । भाषा हाम्रो अस्तित्व हो, पहिचान हो, गौरव हो भन्ने कुरा बुझेर पनि नबुझे जस्तो गर्नु या आफ्नो बालबच्चालाई नबुझाउनु । भाषालाई भन्दा पनि काम र पैसालाई बढी महत्व दिनु । घर समाजमा भेला हुँदा बाल बच्चा, युवा वर्गहरुसँग नेपाली बुझ्दैन भन्दै अंग्रेजीमा गफ हान्नु । यदि सबै जनाले नेपाली भाषालाई महत्व दिने हो भने नेपाली भाषाको विकास हुन्छ । नेपाली भाषाको विकास हुनु भनेको नेपाली साहित्यको जग बन्नु हो ।

समग्रमा भन्नु पर्दा न्यूजिल्याण्डमा जनसंख्याअनुसार साहित्य जुन किसिमले अगाडि जानुपर्ने हो, त्यो चाँहि अलि कम देखिए पनि नेपाली भाषा र साहित्यमा निरन्तर कलम चलाउनेको संख्या पनि कम छैन । विभिन्न साहित्यिक कार्यक्रमहरु निरन्तर संचालन भैइरहेका छन् । स्मारिका, पुस्तक तथा गीति एल्बमहरु बजारमा आउन थालेका छन् । आशा छ, न्यूजिल्याण्डमा पनि नेपाली साहित्यको राम्रै आकाश हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *