विश्वले नेपाली खानालाई छिट्टै अँगाल्छ : विनोद बराल

news-details

विनोद बरालको जन्म पोखरामा भएको हो । बुबा कृष्ण प्रसाद बराल र आमा भूमादेवी बरालको कोखबाट उनी जन्मेका हुन् । पोखराको उत्कृष्ट सरकारी विद्यालयमध्ये एक, अमर सिंह उच्च माविबाट विद्यालय तहको पढाइ उनले पूरा गरे । त्यसपछि उनी मलेखु, धादिङमा मामाघरमा बसेर पढाइ सके । उनका मामा छविलाल मरहट्टा मलेखु फिस बजारका संस्थापकका रूपमा चिनिनुहुन्छ । उहाँले दुई किलो आलु र आधा किलो स्थानीय नदीको माछाबाट तारेको माछा र आलुचप व्यवसाय सुरु गर्नुभयो । जसले पछि गएर मलेखुको पहिचान नै बदलिदियो । मामाबाट व्यवसाय सिके, खाद्यान्नबारे निकै कुरा जानकारी पाए बरालले । खानाले ठाउँको नाम बदल्न सक्छ, जीविकोपार्जन दिन सक्छ र संस्कृतिसम्म निर्माण गर्न सक्छ भन्ने एउटा गहकिलो उदाहरण हो— मलेखुको आलुचप र माछाको परिकारसहितको बजार ।

एस.एल.सी. प्रथम श्रेणीमा पास गरेपछि डाक्टर बन्ने सपना बोकेर मेडिकल साइन्स पढ्न पोखराबाट बाहिरिएका थिए विनोद । सोही समय बिहान–बेलुकी कम्प्युटर कोर्स पनि लिएर सीप सिके । जुन त्यतिबेला निकै लोकप्रिय विषय थियो । पढाइबीच मःमः खाद्य उनको जीवनमा आयो । सुरुमा यो केवल खाजा थियो, पछि सान्त्वना, त्यसपछि आवेग र अन्ततः जीवनभरको साथी बन्न पुग्यो । खाद्यविद् बराल भन्छन्— ‘हाँस्दा पनि मःमःसँगै हुन्छु, रुँदा पनि । उत्सव गर्दा पनि, अनि कथा सुनाउँदा पनि ।’

हाल युरोपका प्रमुख शहरहरुमा खाद्य राजदूतका रुपमा रहेर अत्यन्तै क्रियाशील बरालसँग गरिएको वार्ताको सम्पादित अंश—

यो मःमः अभियान किन र के प्रयोजनका लागि हो ?

यो अभियान स्वस्थ ग्लोबल फास्ट फुडको प्रतिनिधि बनाउनका लागि हो । आजको फास्ट फुड बजारमा सबै तारेको र प्रोसेस्ड खानेकुरा मात्र छन् । तर स्टिमिङलाई ठाउँ छैन । स्टिमिङ स्वास्थ्यका लागि सबैभन्दा उत्तम तरिका हो । मःमःले यसलाई विश्वसामु पु¥याउन सक्छ । मःमः लचिलो छ— भेगन, भेगेटेरियन, ग्लुटेन–फ्री वा प्रोटिन–युक्त बनाउन सकिन्छ । जीवन–शैलीअनुसार परिमार्जन गर्न सकिन्छ । तर मौलिकता हराउँदैन । यसै कारण म चाहन्छु— विश्वले मःमःलाई आधुनिक, स्वस्थ्यकर, लचिलो र संस्कृतिले भरिएको फास्ट फुडको रूपमा देखोस् साथै स्वीकार गरोस् ।

तपाईंलाई यो अभियान अगाडि बढाउने प्रेरणा कहाँबाट आयो ?

मलाई यो प्रेरणा विश्व फास्ट फुड बजारको खालीपन देखेर आयो । पिज्जा, टाकोस, बर्गर, सुसी— सबै छन् । तर स्टिमिङलाई प्रतिनिधित्व गर्ने कुनै विश्वव्यापी खाना नै छैन । मैले आफूलाई सोधेँ— किन मःमः यो वर्गमा होइन ? यो छिटो पाक्छ, पोषण दिन्छ, लचिलो हुन्छ, खाँदा छरितो पनि छ । त्यही बेलादेखि मःमः मेरो आफ्नै जीवनसँग गहिरो रुपले जोडिएको छ । त्यसैले यो प्रेरणा व्यक्तिगत र व्यवहारिक दुवै हो ।

मःमः बाहेक अरू कुनै नेपाली खाना अन्तर्राष्ट्रिय स्तरमा लैजान सकिन्छ त ?

नेपालसँग स्वादको खजाना छ । गुन्द्रुक, छोयला, यमरी, साधारण दाल–भात–तरकारी पनि सही तरिकाले प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्छन् । यी सबै खानाले संस्कार र स्वास्थ्य बोकेको हुन्छ । जसरी मःमः संसारभर फैलिन थालेको छ, त्यसरी नै यी खानाले पनि नेपाललाई प्रतिनिधित्व गर्न सक्छन् ।

के तपाईंलाई लाग्छ कि विश्वले नेपाली खानाको स्वाद स्वीकार्छ ?

हो, अवश्य । विश्व अहिले प्राकृतिक र मौलिक स्वादतर्फ आकर्षित हुँदैछ । नेपाली खाना कृत्रिम होइन । ताजा, मसला–समृद्ध र सन्तुलित हुन्छन् हाम्रा परिकारहरु । एक पटक मानिसले टिमुर, जिम्बु वा गुन्द्रुकको सुप चाखेपछि उनीहरूलाई यसको अनौठो स्वाद थाहा हुन्छ । मलाई विश्वास छ— विश्वले नेपाली खानालाई स्वीकार मात्र होइन, छिटै अँगाल्छ ।

नेपाली मसलालाई अन्य समुदायले कसरी स्वीकार्छन् ?

मसला केवल स्वाद होइन, औषधि पनि हो । यो दर्शन हामीसँग शताब्दीयौँदेखि छ । पहिलो डम्प्लिङ पनि औषधिको रूपमा बनेको थियो । करिब १,८०० वर्षअघि चिनियाँ चिकित्सक झाङ झोङजिङले कान चिलाउने र चिसोले पीडितलाई निको पार्न याकको मासु र जडीबुटी हालेर कानजस्तो आकारको डम्प्लिङ बनाएका थिए । त्यसैबाट सुरु भएको भोजन नै नेपाल आइपुगेर मःमः बन्यो ।

त्यसरी नै हाम्रो टिमुर, मेथी, तिल, अदुवा, बेसार, जिम्बु, हिङ, ज्वानो— यी सबै स्वाद मात्र होइनन्, स्वास्थ्यको ओखती पनि हो । आज विश्वभर प्राकृतिक उपचार खोज्ने समुदाय बढिरहेका छन् । त्यसैले नेपाली मसलाले ठूलो स्वीकार्यता पाउनेछ ।

नेपाललाई प्रवद्र्धन गर्ने विभिन्न सांस्कृतिक क्रियाकलापमा तपाईंलाई देखिन्छ । आगामी योजना के के छन् ?

खाना भनेको संस्कृति हो । मःमः प्रवद्र्धन गर्दा म नेपाललाई पनि प्रवद्र्धन गरिरहेको हुन्छु । आगामी योजनामा खानालाई पर्यटन, संस्कृति र कृषिसँग जोड्ने सोचाइ छ मेरो । मःमः महोत्सव, नेपाली फुड ट्रेल, अनि शैक्षिक कार्यक्रम ल्याउने— जहाँ मानिसले केवल खान मात्र होइन, त्यसको कथा पनि सिक्न पाऊन् ।

नेपाली खानालाई अन्तर्राष्ट्रिय शैक्षिक पाठ्यक्रममा समावेश गर्ने आधारहरू छन् ?

यो नै मेरो विशेष सपना हो । अहिले विश्वका कुलिनरी स्कूलहरूले फ्रेन्च, इटालियन, चिनियाँ, जापानी र भारतीय खाना पढाउँछन् । तर नेपाली खाना त्यहाँ समावेश छैन । मेरो सपना छ— नेपाली पाककला पनि त्यहाँ पुगून् । यसको लागि दस्तावेजीकरण, अनुसन्धान र संरचित सामग्री चाहिन्छ । मेरो पुस्तक मःमःका पाइलाहरू त्यसतर्फको पहिलो कदम हो । यसले शैक्षिक समावेशको ढोका खोलोस् भन्ने मेरो चाहना छ ।

के सरकारले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न र पर्यटन विस्तार गर्न प्रयास गरेको देख्नुहुन्छ ?

केही प्रयासहरु भएका छन् । तर ती बलियो र निरन्तर छैनन् । पर्यटनमा पैदलयात्रा वा प्राकृतिक सौन्दर्यलाई प्राथमिकता दिइन्छ तर फुड टुरिज्मलाई होइन । खाना भनेको हरेक पर्यटकले दिनमा तीन पटक अनुभव गर्ने कुरा हो । यदि सरकारले खानालाई पर्यटन, कृषि र स्वास्थ्यसँग जोड्यो भने नेपालले नयाँ पहिचान बनाउन सक्छ । अहिले भने निजी क्षेत्र र प्रवासी नेपालीहरूको उत्साह सरकारभन्दा बढी क्रियाशील भएको देख्छु म ।

मःमःका पाइलाहरू बाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

प्रतिक्रिया निकै भावनात्मक र शक्तिशाली पाइरहेको छु । पाठकहरूले यो पुस्तकले बाल्यकाल, आमाको भान्सा वा पहिलो पटक सानो पसलमा मःमः खाएको क्षण सम्झाइदिन्छ भन्छन् । धेरैलाई गर्व लाग्छ— मःमःलाई इज्जत र दृष्टिकोणसहित प्रस्तुत भएको देखेर । यसले खाना मात्र होइन— स्मृति र पहिचानबारे पनि संवाद सुरु गरेको छ । त्यो नै मेरो लागि सबैभन्दा ठूलो पुरस्कार हो ।

नेपाली पाककलाको लागि सबैभन्दा जरुरी, अपरिहार्य काम के हो ?

दस्तावेजीकरण र इज्जत । हामीले आफ्ना कथाहरू लेख्नुपर्छ, रेसिपी जोगाउनुपर्छ, र खानालाई संस्कृतिसहित प्रस्तुत गर्नुपर्छ । इतिहासबिना खाना केवल रेसिपी हुन्छ । इतिहाससहित खाना संस्कृति बन्छ, संस्कृतिसहित खाना पहिचान । यो काम कहिल्यै सम्झौता गर्न नहुने पक्ष हो ।

तपाईं धेरै संस्थागत कार्यमा संलग्न हुनुहुन्छ । समय कसरी मिलाउनुहुन्छ ?

मेरो लागि जीवन र काम अलग छैन । खाना नै मेरो जीवन हो । मःमः नै मेरो जीवन हो । लेख्दा, बोल्दा, पकाउँदा— सबै एउटै प्रवाह हो । आवेग हुँदा समय मिलाउन सजिलो हुन्छ । व्यस्तता त हुन्छ तर बोझ लाग्दैन, किनभने यो नै मेरो पुकार हो ।

फ्लेवर आन्दोलनका लागि तपाईंलाई नेपाली समुदाय वा सरकारबाट कस्तो सहयोग प्राप्त भएको छ ?

सरकारको सहयोग सीमित छ । तर नेपाली समुदायको समर्थन असाधारण छ । सेफ, रेस्टुरेन्ट व्यवसायी, लेखक, विद्यार्थी र घरमै मःमः पकाउने परिवार सबैले साथ दिएका छन् । यो अभियान केवल मेरो होइन, नेपालको हो । जनताको हौसलाले मलाई अझ दृढताका साथ अघि बढ्न प्रेरित गरिरहेको छ । त्यो आत्मबलले मलाई झन् हौसला थपेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया