डायस्पोरिक जीवन र संवेदनाका आयामहरूको कारण मेरा सिर्जना फरक छन : मुकुल दाहाल

news-details

पुर्वी नेपालको झापामा जन्मी, हाल वेलायतमा रही लेखन तथा प्राज्ञिक कार्यमा सक्रिय मुकुल दाहाल ४० को दशकदेखि निरन्तर साहित्यक लेखन र अनुवाद कार्यमा संलग्न हुनुहुन्छ । वहाँको कविता संग्रह ‘सीमातीत सीमान्त’ २०६१ सालमा वाणी प्रकाशनबाट प्रकाशित भएकोमा अर्को कविता कृति ‘घामतिर उडिरहेका चराहरू’ प्रकाशनको तयारीमा रहेको छ । वहाँले २०६६ सालमा इटलीमा भएको नोसिदे विश्व कविता प्रतियोगितामा सर्वोत्कृष्ट विजेताको पुरस्कार जित्नुभएको थियो । वहाँले नेपालीबाट अंग्रेजीमा अनुवाद गर्नु भएको घनश्याम राजकर्णीकारको नियात्रा संकलन My Travels : East and West साथै अनुवाद तथा संपादन गर्नु भएको परशु प्रधानको कथा संग्रह  The Little Buddha in Tokyo पुस्तकाकारका रुपमा प्रकाशित छन् । यसको अलावा वहाँले थुप्रै फुटकर नेपाली कविताहरूलाई अंग्रेजीमा अनुवाद गर्नु भएको छ । विगतमा साहित्यिक पत्रिकाहरू नेपाल लेटर्स (अंग्रेजी साहित्यिक मासिक), चिन्तन (साहित्यिक त्रैमासिक) तथा पेन हिमालय (अन्तर्राष्ट्रिय साहित्यिक अनलाइन)को सम्पादन पनि गर्नुभएको थियो । वहाँले वेलायतको स्वानसी युनिभर्सिटिबाट एम. ए, ग्लासगो युनिभर्सिटिबाट एम. फिल र डण्डी युनिभर्सिटिबाट विद्यावारिधी समेत हासिल गर्नु भएको छ । वहाँ हाल स्कटल्याण्डको एबर्डीनमा बसी नियमित कार्य र लेखनमा संलग्न रहिआउनु भएको छ । उहाँसँग युवराज नयाँघरेले गर्नुभएको वार्ताको संक्षेप रुप प्रस्तुत छ :

कविता के हो ?

जीवनलाई छोइरहने, जीवनका अनेक रंगहरू प्रकट भइरहने कलाको रूप कविता हो जस्तो लाग्छ । कविता शायद भाषाको मृदु सरगम हो, जब हामीभत्रको संवेदनाले केही सुरिलो भन्न खोज्छ, राम्रो श्रृङ्गारका साथ अभिब्यक्त हुन खोज्छ त्यो कविता बन्ने रहरमा हुन्छ । कवितामा आक्रोश सुन्दर हुन्छ, घृणा रूपवान हुन्छ, पीडा, पीर, आवेग, उद्वेग सबै कोमल हुन्छन् । मान्छेलाई रून मन लाग्दा भाषाले कविताको ठाउँ देखाइदिन्छ । कवितामा अभिब्यक्त बिद्रोहले सत्ता हल्लाउने सामथ्र्य पनि राख्छ । कवितामा मुना मदन, गौरी, मातेको मान्छेको भाषण, फर्सीको जरा, आगोका फूलहरू हुन सबै अटाउँछन् । सधैँ ब्याख्या परिभाषा खोजिरहने, सधै ब्याख्या परिभाषामा नअटाउने जीवनको र अस्तित्वका अनेक सत्यहरू उद्घाटन भइरहने सिर्जना र कलाको स्तूप कविता हो ।

कविता शास्त्रीय सिद्धान्तले हेरिने विधा हो ?

सिद्धान्तहरू एक आयाम हुन, सिर्जना अर्को आयाम हो । शास्त्रीय सिद्धान्तहरूको प्रयोग कविताको कलात्मक चेतनालाई बुझ्ने र त्यसको बनोट र प्रयोगका उम्दा पक्षहरूको विश्लेषण गर्ने उद्धेश्यमा केन्द्रित भएको हदसम्म ती सिद्धान्तहरूले हेर्न सकिएला । तर ती सिद्धान्तहरूले कवितालाइ हेर्दा कविताको स्वतन्त्र आकाशलाई संकुचन गर्ने वा सीमामा राखिनु पर्ने आग्रह जोडिए कविता आफैले त्यसलाई खारेज गरिदिन्छ । कविता एक लोकपृय र गम्भीर विधा हो । यो जीवन जत्तीकै विविध, व्यापक र कुनै नियम विधानमा बग्न नरूचाउने एक प्रवाह हो । त्यसैले सिद्धान्तहरूले हेर्न सकिएला तर कुनै सिद्धान्तले निर्दिष्ट गर्ने स्पेसमा सिमित रहन्न । कविता सीमाहरू तोड्दै अगाडि बढ्ने यात्रा हो । यो पढिने, सुनिने र महसुस गरिने कला हो, यसको आफ्नै चेतना छ ।

मेरो बुझाइमा कविता सिद्धान्त हैन यो सिर्जना हो, कलाको रूप हो । हो शास्त्रीय काव्यिक विधाहरू छन्दका सिद्धान्त र नियमा लेखिन्छन् र तिनीहरूमा लय र ध्वनी सौन्दर्य भरपुर रहन्छ तर तिनीहरू आफैँमा सिद्धान्त हैनन् । तिनीहरू पनि सिर्जनाका नओइलाउने फूलहरू हुन ।

तपाईँको सम्मोहन किन रह्यो कविता सँग ?

मेरो आफ्नो कल्पनाको स्वभाव वा सिर्जनात्मक धुनको स्वभाव कवितासँग बढी मिल्न गयो कि भन्ने लाग्छ । मैले फिक्सन पढ्दा वा निबन्धहरू पढ्दा पनि कवितै पढिरहेको हुँदो रहेछु । तपाईँ (युवराज नयाघरे) का नियात्राहरू पढ्छु — कवितै कविता भेट्छु । धराबासी, अमर नेउपाने, बुद्धिसागर वा नगरकोटी (मात्र केही नामहरू, अरू कैयौ आख्यान लेखकहरू हुनुहुन्छ) का कथा उपन्यासहरू पढ्छु, कवितै कविता भेट्छु । मलाई कल्पनाको सघनता, भाषाको अद्भुत क्षमता र विम्बहरूको जादुगरीले सधैँ लठ्याइरहन्छ । जहाँ कल्पनाशीलता घना बन्छ, जहाँ भाषाले विम्बमा बोल्न शुरू गर्छ, त्यहाँ म पुग्दो रहेछु, त्यहाँ जीवन पुग्दो रहेछ, त्यहाँ कविता हुँदो रहेछ ।

कविता सिद्धान्त कति हो, यथार्थ कति हो ?

मेरो बुझाइमा कविता सिद्धान्त हैन यो सिर्जना हो, कलाको रूप हो । हो शास्त्रीय काव्यिक विधाहरू छन्दका सिद्धान्त र नियमा लेखिन्छन् र तिनीहरूमा लय र ध्वनी सौन्दर्य भरपुर रहन्छ तर तिनीहरू आफैँमा सिद्धान्त हैनन् । तिनीहरू पनि सिर्जनाका नओइलाउने फूलहरू हुन । अर्को थरी मानिसहरू छन्, कवितामा वाद खोज्छन्, तर वादहरू कविता होइनन् । कविताहरू कविता नै हुन । इतिहासमा कवितालाई वादहरूका रंगहरू दली सजाउन खोजियो होला, जस्तो कि रोमान्टिसिज्म वा स्वच्छन्दतावाद, मोडर्निजम् वा आधुनिकता वा पोस्ट मोडर्निजम या उत्तरआधुनिकवाद । मानव सभ्यताको यात्रामा सामाजिक जीवनमा आएको परिवर्तन र त्यसले जीवन र संवेदनामा पारेको प्रभाव कवितामा आएको हो । आखिर कविता जीवनबाट अलग छैन नी कहिले पनि । फेरि पनि ती सिद्धान्त वा वादका आँखिझ्यालबाट कवितालाई हेरिनु वा सिर्जना प्रकृयालाई डोर्याउन खोजिनु एक पक्ष हो, तर त्यसो हुँदैमा कविता सिद्धान्त बनिहाल्दैन ।

तपाईँ आफ्नो समयको निकै बलियो सर्जक हो । अहिले किन सुस्त ?

कविता सिर्जना गरि नै रहेको छु तर स्थानान्तरण र नयाँ ठाउँका तमाम संघर्षहरूले ध्यान केही समय अन्य कुरामा बढी केन्द्रित भयो । तर त्यो अवस्था पनि सकिएको छ र म अहिले त्यतिकै सकृय छु । त्यो सुस्तता दूर भइसकेको छ ।

कवितामा तपाईँको भिन्नता कुन अर्थले फरक हो ?

मेरो शैलीको निजात्मकता, विषयहरूलाई छुने चलाउने र त्यसलाई कलाको रूप दिने आफ्नै अलग सिर्जनात्मक स्वभावले त्यो भिन्नता छुट्टिन्छ कि ? मेरा कवितामा मेरो स्वर, मेरा विम्ब, रूपकहरूको चयन र प्रयोग साथै मेरो डायस्पोरिक जीवन र संवेदनाका आयामहरूको कारण फरक छन् । बाँकी त पाठक समालोचकको पठन र विश्लेषणले निक्र्योल गर्ने नै छ ।

कवितामा अहिले प्रविधि हावी भएको छ । के यो आवश्यक छ ?

कविता मात्र हैन प्रविधिले जीवन र जगतका हरेक अर्थहरूमाथि हमला गरिरहेछ । मानवीय संवेदनालाई कृतिम, बजार वा क्रयबिक्रयको औजार र सातहिक बनाइरहेछ, यस अर्थमा काव्यलाई पनि त्यही दिशातिर तान्ने खतरा छ। प्रविधि त्यसमा पनि विशेषत आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले मानवीय प्रज्ञा र प्रतिभालाई चुनौती दिइरहेको छ । तर मौलिक सिर्जनामाथि डरलाग्दो ढंगले हावी हुन भने सक्दैन । मौलिकतामा जुन सौन्दर्य छ, जिवन्तता छ, सिर्जनात्मक सामथ्र्य छ त्यसको स्थान प्रविधीले लिन सक्दैन । सुचना खोज गर्ने, विश्लेषण विवेचना गर्ने, मानव प्रज्ञालाई विस्तार गर्ने जस्ता कुरामा प्रविधि सहयोगी नै होला, तर कविता प्राविधिक उत्पादन हैन । नितान्त निजी र आत्मपरक भएकोले यसमा प्रविधी हावी हुन सक्दैन । तर कवितालाई द्रुत गतिमा पाठकहरूसम्म पुर्याउने अर्थमा प्रविधी निकै सहयोगी र सकारात्मक माध्यम पनि बनेको छ ।

कवितामा अहिले विचारभन्दा कलाकारिता र प्रस्तुती मात्रै भएको टिप्पणी छ नी । के भन्नु हुन्छ ?

केही हदसम्म होला जस्तो लाग्छ । टेलिभिजन, युट्युब जस्ता मिडियाहरूमा आएका काव्यिक कार्यक्रमहरूमा कविता थिम वा विचार भन्दा बढी थियाट्रिक साजसज्जा र प्रस्तुतिमा बढी ध्यान गएको हो कि भन्ने लाग्छ नै । त्यसले कविता त्यतिमात्रै पो हो कि भन्ने भान गराउँछ । तर फेरि ती प्रयोगहरू र प्रस्तुतीहरूको उज्यालो पक्ष पनि छ । तिनीहरूले कवितालाई झन लोकपृय बनाउन र ब्यापक जनसमुदायसम्म पुर्याउन सहयोग पनि गरेका छन् । यति भन्दै गर्दा फेरि यो भन्न जरूरी छ कि ती प्रस्तुतीहरूमात्र आजको समग्र नेपाली कविताको चित्र हैन । गाउँ, दुरदराज र देशबाहिर डायस्पोरा र मिडिया प्रस्तुतीको केन्द्रभन्दा पर पनि काव्यिक मुल्यमा, बैचारिक मुल्यमा सबल श्रृजनाहरू जन्मिरहेछन्, नेपाली काब्यको स्पेस फराकिलो बनाइरहेछन् ।

आजको कवितामा स्वरहरूको विविधता छ । भुइँमान्छेको बोली छ, देश छोडी गइरहेका मान्छेहरूको आवाज छ, पहिचान खोजिरहेका सीमान्तकृतहरूको आवाज छ, देश बाहिर बसी देशको माया गर्ने मान्छेहरूको आवाज छ, प्रेमको बोली छ, विभेद विरूद्धको आक्रोसको स्वर छ । कवितामा मनहरूको बोली छ, विचारहरूको बोली छ । समग्रमा आजको कवितामा मान्छेको बोली प्रशस्तै छ ।

आज विश्वविध्यालयमा पढिने कविताले काब्यिक मान्यता प्राप्त गर्छ ?

छनौटमा सधैँ सीमितता हुन्छ । त्यो छनौट गर्ने ब्यक्ति वा समूहको रूची, स्वार्थ र प्राथमिकतामा आधारित हुन्छ । विश्वविध्यालयको पाठ्यक्रमको छनौट र निर्माण प्रकृयामा पनि त्यो लागु हुन्छ । त्यसैले त्यसमा छानिएका र समेटिएका काव्यिक रचाना सामग्रीहरू यदि देवकोटा, रिमाल, लेखनाथ, सम, काइला, बल्लभ, कोइराला, भुपी वा माधव घिमिरे जस्ता नेपाली काव्यिक इतिहासका धरोहर भए यो प्रश्न बाहिर रहलान् । अन्यको हकमा कस्ता कविताहरू समेटिएका छन, ल्यसमा निर्भर गर्छ । त्यसैले ती छनौट गरिएका कविताहरूमा काव्यिक मुल्यको कसीमा हेर्दा प्रशस्त सीमाहरू रहलान् । प्रश्नहरू रहलान् ।

आजको कवितामा मान्छेको बोली कति प्रतिशत होला ?

यति मात्र भन्न सकिन्छ कि आजको कवितामा स्वरहरूको विविधता छ । भुइँमान्छेको बोली छ, देश छोडी गइरहेका मान्छेहरूको आवाज छ, पहिचान खोजिरहेका सीमान्तकृतहरूको आवाज छ, देश बाहिर बसी देशको माया गर्ने मान्छेहरूको आवाज छ, प्रेमको बोली छ, विभेद विरूद्धको आक्रोसको स्वर छ । कवितामा मनहरूको बोली छ, विचारहरूको बोली छ । समग्रमा आजको कवितामा मान्छेको बोली प्रशस्तै छ ।

तपाईँ आफ्नो कविता यात्रामा कहाँनेर हुनुहुन्छ ?

कविता यात्राको प्रवाहमा नै छु । तर अहिले फूलको तरेलीमा अडिएको शीतको थोपा जस्तो अवस्थामा छु , कविताको पुस्तक पाठकसामू ल्याउने तरखरमा छु ।

कवितामा तपाईँको पहिचान ४० को दशकमा निकै बलशाली थियो । अहिले हामीसित त्यो आधार कत्तिको छ ?

आधार त्यत्तिकै बलियो छ तर मैले फुटकर कविताहरू मात्र दिईरहेको छु । अब पुस्तकमा आउनु जरूरी छ भन्ने कुरामा सचेत छु र त्यो दिशामा सकृय छु ।

मेरो अध्ययन र पठनले भन्छ नेपाली कविता विश्वस्तरमा उभिन सक्छ तर स्तरीय कविताको त्यही उचाइको अनुवाद भई विश्वबजारमा जान सक्ने गरी प्रकाशन हुनु आवस्यक हुन्छ ।

आजको नेपाली कविता विश्व स्तरमा उभिन सक्ला ?

मेरो अध्ययन र पठनले भन्छ नेपाली कविता विश्वस्तरमा उभिन सक्छ तर स्तरीय कविताको त्यही उचाइको अनुवाद भई विश्वबजारमा जान सक्ने गरी प्रकाशन हुनु आवस्यक हुन्छ । उदाहरणको लागि अविनाश श्रेष्ठको भर्खरै हार्पर कोलिन्सबाट प्रकाशित The Dust Draws its Face on the Sand लाई लिन सकिन्छ । यही स्तरको अनुवाद र प्रकाशन नेपाली भाषामा लेखिएका राम्रा कविताहरूको हुन सके अन्तर्राष्ट्रिय पाठकहरूको ध्यान नेपाली कवितामा जान सक्छ र नेपाली कविता विश्वरंगमंचमा उभिन सक्छ । मेरो आफ्नै एउटा उदाहरण दिन्छु । मैले सन २००९ मा इटलीको एउटा अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा भाग लिएँ । यसको नाम नोस्सिदे विश्व कविता प्रतियोगिता हो । नेपालीमा लेखिएको कविता अंग्रेजी अनुवादको साथमा पठाएको थिएँ । त्यसमा २८ देशबाट ३२ वटा भाषामा कविताहरू आएका रहेछन् । मैले सर्वोत्कृष्ट (absolute winner) कविताको पुरस्कार पाएँ । एउटा सानो उदाहरण हो यो र यसले हामीलाई नेपाली कविता विश्वमन्चमा उभिन सक्छ भन्न सक्ने आधार दिन्छ ।

तपाईँको कविता सँगै अनुवादमा पनि विशेष दखल थियो । अहिले त्यो शिल्प कहाँ छ ?

अनुवादमा रूचि उस्तै नै छ तर त्यो शिल्पको प्रयोग मैले धेरै गर्न सकेको छैन । विदेशको जीवनमा समयको पावन्दी रहन्छ । त्यसैले थोरै र फुटकर रूपमा मात्र गर्न सकेको छु । अनुवादमा प्रशस्त लगन र धैर्यता चाहिन्छ । अझ गरूँ, नेपाली साहित्यमा अनुवादको योगदान गरूँ लाग्छ । समय मिलेसम्म गर्ने नै छु ।

आज नेपाली कवितामा किन पहिचानको मुल्य स्थापित नभएको हो? के यो युद्धमा नेपाली काव्यिक चरित्रको विजय नहोला ?

मुख्य कुरा अनुवाद, प्रकाशन र त्यसलाई विश्वब्यापिकरण वा अन्तराष्ट्रिय स्तरमा पुर्याउने जस्ता कार्यहरू जति हनुपर्ने त्यति नभएका हुन । अनुवादमा कुन रचना वा कृतिलाई लैजाने भन्ने कुरा पनि महत्वको विषय हुन्छ । कुन काव्यको अनुवाद गर्ने वा कुन रचनाले नेपाली भाषिक सांस्कृतिक विरासतको पहिचान बोक्न सक्छ भन्ने कुराले ठुलो अर्थ राख्छ । राज्यको पहलका प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाले अन्तर्राष्ट्रिय प्रकाशन हाउस र संपादकसँग समन्वय गरेर शशक्त रूपमा यो दिशामा काम गरे अझ प्रभावकारी हुन्छ । अनुवाद प्रकाशन नभएका पनि हैनन्, अन्तर्राष्ट्रिय प्रकाशनमा फाट्ट फुट्ट गइरहेका पनि छन् । तर त्यतिले मात्र पुगेको छैन । यो भन्दा शक्तिशाली र आक्रमक रूपमा काम हुनु जरूरी छ । त्यसो भएमा नेपाली काव्यिक र समग्र साहित्यको चरित्रको पहिचान अवश्य स्थापिता हुन्छ ।

कवितामा मौलिकता र आफ्नो खास कला भएको कवि मुकुलबाट नेपाली काव्य जगतले लगत्तै कुनै कोसेलीको अपेक्षा गर्न मिल्छ ?

अवश्य मिल्छ । यो २०८२ साल भित्र मेरो कविता संग्रहको पुस्तक ल्याउने तयारीमा छु । र त्यो पाठकहरू माझ आउँछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया