काठमाडौँ । मलेसिया रोजगारीका विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण, भ्रामक र तथ्यहीन सूचना सम्प्रेषण भइरहेको भन्दै युवा, श्रम तथा रोजगार मन्त्रालयले त्यस्ता सूचना नफैलाउन आग्रह गरेको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीजस्तो संवेदनशील विषयमा सत्यतथ्यबिनाका सूचनाले आम नागरिक तथा सरोकारवालामा अन्योल सिर्जना गर्न सक्ने जनाएको छ। सम्बन्धित विषयमा वास्तविक अवस्था स्पष्ट पार्न र सबैलाई सही जानकारी उपलब्ध गराउन विज्ञप्ति जारी गरिएको मन्त्रालयले जनाएको हो।

विज्ञप्तिमा मलेसिया रोजगारीको पछिल्लो अवस्थाबारे नेपालले अवलम्बन गरेको श्रम तथा रोजगारसम्बन्धी नीति, वैदेशिक रोजगार ऐन तथा नियमावली, द्विपक्षीय श्रम सम्झौता र अन्तर्राष्ट्रिय कानुनको परिधिभित्र रहेर मलेसिया सरकारका सम्बन्धित निकायसँग निरन्तर कूटनीतिक संवाद भइरहेको उल्लेख छ। आपसी संवादमार्फत समस्याको यथाशीघ्र समाधान खोज्ने पक्षमा सरकार रहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले नेपालको संविधान, प्रचलित कानुन र श्रम सम्झौताविपरीत हुने प्रणाली तथा पद्धतिले श्रमिकको दीर्घकालीन हित संरक्षण गर्न नसक्ने जनाएको छ। नेपाली श्रमिकको हित संरक्षण गर्दै नेपाल र मलेसियाबीचको श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी, वस्तुनिष्ठ, न्यायोचित तथा पारस्परिक हितमा आधारित बनाउन सरकार प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, निष्पक्ष कामदार छनोट तथा भर्ना प्रणाली सुनिश्चित गर्ने विषयमा नेपाल सरकार सचेत रहेको मन्त्रालयले स्पष्ट पारेको छ। नेपाल र मलेसिया सरकारबीचको श्रम समझदारीका आधारमा दुवै पक्षलाई मान्य हुने पारदर्शी र निष्पक्ष भर्ना प्रणाली विकास गर्न सरकार सकारात्मक रहेको पनि विज्ञप्तिमा जनाइएको छ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव मिरा आचार्यद्वारा जारी विज्ञप्तिमा मलेसिया रोजगारीसम्बन्धी विषयमा आधिकारिक जानकारीका लागि मन्त्रालयका सूचनालाई आधार बनाउन र अपुष्ट विवरणका आधारमा निष्कर्षमा नपुग्न आग्रह गरिएको छ।

मन्त्रालयले २०८३ कात्तिक ११ गते जारी गरेको विज्ञप्तिमा मलेसिया रोजगारीको विषयलाई कूटनीतिक संवाद र श्रमिकको हितलाई केन्द्रमा राखेर समाधान गर्ने सरकारको धारणा सार्वजनिक गरेको हो।

मलेसिया रोजगारीबारे भ्रमपूर्ण सूचना नफैलाउन श्रम मन्त्रालयको आग्रह