काठमाडौं । नेपाल सरकारले नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा छलफल गर्न नेपाल–मलेसिया संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–JWG) को बैठक काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई औपचारिक पत्राचार गर्दै श्रमिक भर्ना प्रक्रियामा देखिएका समस्या तथा श्रम आप्रवासनसँग सम्बन्धित विभिन्न विषयमा द्विपक्षीय छलफलका लागि बैठक प्रस्ताव गरेको हो।
नेपालले बैठकका लागि सन् २०२६ नोभेम्बर १८ र १९ वा डिसेम्बर २ र ३ गतेको मिति प्रस्ताव गरेको छ। मलेसियाली पक्षको अनुकूलताअनुसार बैठकको मिति तय गर्न सकिने नेपालले जनाएको छ।
प्रस्तावित बैठकमा मलेसियाको विदेशी श्रमिक व्यवस्थापन प्रणाली FWCMS अन्तर्गत नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ। साथै, श्रमिक भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी, सहज र श्रमिकमैत्री बनाउने विषय पनि बैठकको प्रमुख एजेन्डामा रहने जनाइएको छ।
नेपालले श्रमिक भर्ना प्रक्रियामा निरन्तरता, पूर्वानुमानयोग्यता र सहजता कायम राख्नुपर्नेमा जोड दिएको छ। दुवै देशबीच आपसी सहमतिमा नयाँ व्यवस्था तय नभएसम्म विद्यमान प्रक्रियालाई निरन्तरता दिनुपर्ने नेपालको धारणा छ।
त्यसैगरी, सन् २०१८ मा नेपाल र मलेसियाबीच सम्पन्न श्रमसम्बन्धी समझदारीपत्र (एमओयू) नवीकरणका लागि तयार पारिएको मस्यौदालाई अन्तिम रूप दिने विषयमा समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल सरकारले मलेसियासँगको श्रम सहकार्यलाई महत्त्व दिँदै नेपाली श्रमिकको हित संरक्षण, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारीको प्रवर्द्धन र दुवै मुलुकको साझा हितअनुकूल श्रम सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
संयुक्त कार्यदलको प्रस्तावित बैठकले नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियामा देखिएका विषयलाई संवाद र आपसी सहमतिमार्फत सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।








