श्रमदानमा नागरिक सहभागिता जुटाउँदै, श्रम संस्कृति जगाउँदै स्थानीय तहका जनप्रतिनिधि

news-details

नेपाली समाजमा हराउँदै गएको श्रमदान संस्कृतिलाई स्थानीय तहका जनप्रतिनिधिहरू पुन जगाउने प्रयत्न गर्दै छन् ।

विगतमा श्रमदानबाट समुदायमा धेरै काम हुने गरेका भए पनि अहिले श्रम संस्कृति मर्दै गएको छ । मानिसहरू सामाजिक काममा मात्र होइन आफ्नै काममा समेत सरकारी अनुदान र सहयोग माग्न धाउने क्रम बढ्दै गएको छ ।

‘आफ्नो घर माथिबाट खसेको काल्नो पन्छाउन पनि अनुदान र सहयोग माग्ने आउने क्रम बढेको छ’, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ पछिल्लो अवस्था सुनाउँदै भन्छन् ।

विगतमा व्यक्तिगत काम मात्र होइन सार्वजनिक कामहरू बाटो मर्मत गर्ने, चौतारो बनाउने, रुख रोप्ने, धारा–पँधेरा बनाउने, पोखरी खन्ने, कुलो मर्मत गर्ने काममा गाउँलेहरू श्रमदानमा जुट्ने गर्दथे । व्यक्तिलाई समस्या र्पयो भने वा व्यक्तिका घर बनाउँदा निदाल बोक्ने, तलो छाप्ने, विवाह, व्रतबन्ध जस्ता भोजहरूमा पनि छिमेकीले निःशुल्क श्रमदान गर्दथे । तर अहिले हरेक काममा अनुदान र सहयोग खोज्ने र त्यसबाट समेत नाफा कमाउने प्रचलन बढ्दै गएको छ ।

स्थानीय तहले उपभोक्ता समिति मार्फत गर्ने कामको उपभोक्ता समितिमा बस्न हारालुछ हुने गरेको छ । उपभोक्ता समितिमा बसेर काम गर्दा केही नाफा कमाउन सकिन्छ भन्ने धारणा विकास हुँदै गएको छ ।

हराउँदै गएको श्रमदान संस्कृतिलाई जगाउन आफैँ श्रमदानमा खट्ने गरेको लिखु तामाकोशी गाउँपालिका–२ सैपुका वडाध्यक्ष सन्तोष पौडेल बताउँछन् । उनी वडाध्यक्ष निर्वाचित भएदेखि नियमित रूपमा श्रमदानको काममा खटेका छन् ।

निर्वाचित भएकै वर्ष वर्षाको कारण सडक बिग्रिएर यातायात समाधान नचलेपछि वडाध्यक्ष पौडेल वडाका अन्य जनप्रतिनिधि लिएर श्रमदानमा जुटेका थिए । त्यस बेला स्थानीय खासै श्रमदानमा ननिस्किएका भए पनि यस वर्ष भने नागरिकहरूले साथ दिएका वडाध्यक्ष पौडेल बताउँछन् । ‘श्रमदान गरेर सडक मर्मत र्गयौँ, विद्युत्का पोल बोक्यौँ, खाडल खन्यौँ, तार तान्यौँ, नागरिकका घरमा बत्ती बाल्यौँ, वर्षाको बेलामा पनि कुनै दिन नरोकी यातायात साधन सञ्चालन र्गयौँ’, पौडेलले भने ।

सोही गाउँपालिका–१ का वडाध्यक्ष प्रदीप तामाङ पनि नागरिकहरू बिस्तारै श्रमदानको काममा जुट्न लागेका बताउँछन् । ‘सुरु सुरुमा श्रमदान जुटाउन धेरै गाह्रो थियो, अहिले भने बिस्तारै मानिसहरू निस्कन लागेका छन्, हाम्रो वडामा पनि सडक मर्मतमा श्रमदान जुटाएर धेरै काम गरियो’, उनले भने ।

मन्थली नगरपालिका–८ का वडाध्यक्ष गोपाल श्रेष्ठ श्रमदान जुटाउन जनप्रतिनिधि आफैँ श्रमदानमा निस्कनु पर्ने बताउँछन् । ‘जनप्रतिनिधि आफैँ निस्किएपछि बिस्तारै अरू मानिस पनि पछि लाग्ने रहेछन्’, उनले भने । वृक्षारोपण, सरसफाइ लगायतका काममा बिस्तारै श्रमदान जुट्न लागेको उनले बताए ।

श्रमदान मार्फत सामाजिक काम अघि बढाउनेमा मन्थली नगरपालिका–२ पनि पर्दछ । सो वडामा टोल सुधार संस्था मार्फत मन्दिर, बाटो सफाइका साथै वृक्षारोपण लगायतका कार्यक्रम हुन लागेका वडाध्यक्ष सुरेन्द्र कार्की बताउँछन् । ‘श्रमदान गरेर केही काम गर्नु र्पयो भन्दा सहभागिता जुट्न लागेको छ’, कार्कीले भने ।

जिल्लाको उमाकुण्ड गाउँपालिकामा पनि यस पटकको वर्षामा सडक मर्मत गर्न स्थानीयले राम्रो श्रमदान गरे । वर्षाले बिग्रिएको मध्यमार्गी लगायतका सडक मर्मत गर्न स्थानीयले श्रमदान गरे ।

यी केही प्रतिनिधिमूलक घटना हुन् । पछिल्लो समय यस्ता काममा नागरिकको ठाउँमा सहभागिता बढेको छ । जसले गर्दा हराउँदै गएको नेपाली समाजको श्रमदान संस्कृति पुनर्जागृत हुँदै छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *