अर्थतन्त्रको नीति र संरचना परिवर्तन गर्ने दिशामा सरकार अग्रसर भएको छ -अर्थमन्त्री पौडेल

news-details

अर्थतन्त्रको समस्या सिर्जना गर्ने नीति र संरचनालाई नै परिवर्तन गर्ने दिशामा सरकार अग्रसर भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन ।

बुधबार राजधानीमा आयोजित ‘अर्थतन्त्रको अवस्था र अबको निकास’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकारले थप कदम चाल्न लागेको जानकारी दिएका हुन ।

“अर्थतन्त्रको समग्र चित्रको रूपान्तरणका लागि सरकार र विभिन्न निकायले गरेका अध्ययन, सुझाव र सिफारिसलाई विश्लेषण गरेर नीतिगत तथा संरचनागत परिवर्तन गर्ने छौँ,” उनले भने, “काम नलाग्ने भनिएका नीति, अनावश्यक भनिएका संरचना कसरी हटाउने र त्यसलाई कसरी नतिजामुखी बनाउने भन्नेमा सरकार गम्भीर अध्ययनमा लागेको छ।”

पछिल्लो समय राजस्व सङ्कलन र पुँजीगत खर्चको अवस्था निराशाजनक रहेको भन्दै मन्त्री पौडेलले अब बजेट निर्माणको तरिका र सोचले काम नगर्ने बताए । उनले समस्याग्रस्त संरचना र नीतिको निरन्तरतालाई अब चिरेर नयाँ सुरुवात नगरी नहुने बाध्यतामा सरकार पुगेको बताए । “बजेटको आकार, त्यसका नीतिगत आधारमा रहेका कमीकमजोरीदेखि कार्यान्वयनका सबै समस्या केलाएर नयाँ सोचका साथ अगाडि बढ्नैपर्छ,” उनले भने, “अब फगत गफ, औसतखाले अभ्यास र विश्लेषणले पुग्दैन।”

पछिल्लो समय वित्तीय समस्याका कारण निजी क्षेत्र समस्यामा परेको भन्दै उनले त्यसलाई पनि आपसी छलफलबाट समाधान निकाल्ने बताए । “निजी क्षेत्रलाई आतङ्कित बनाएर तर्साएर जाने अवस्था छैन,” उनले भने, “सौहार्दपूर्ण वातावरणमा कानुनको पूर्ण कार्यान्वयन अहिलेको आवश्यकता हो भन्नेमा सबै सरकारी अधिकारी र निजी क्षेत्रले बुझ्नुपर्छ।”

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय तथा आर्थिक समस्या समाधान र सन्तुलनका लागि संरचनागत सुधार अपरिहार्य रहेको औँल्याएका थिए । “हाम्रो अर्थतन्त्र आयात, त्यसैमा आधारित उपभोग तथा राजस्व र त्यो आयातका लागि रेमिट्यान्सको रकमको उपयोगको चक्रभित्र अड्किँदै आएको छ,” उनले भने, “अब यो चक्र तोड्न दीर्घकालीन तथा रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्छ।”

अर्थतन्त्रको सुधार र सुरक्षाका लागि कठोर भए पनि आवश्यक देखिएका कदम विगतमा चालिएकाले अहिले केही वित्तीय सन्तुलनको अवस्था सिर्जना भएको गभर्नर अधिकारीले बताए । बैङ्कहरूले पनि अहिले निजी क्षेत्रलाई त्रसित र दबाबपूर्ण अवस्था सिर्जना नगरी हदैसम्मको लचकता अपनाउन उनले सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले आयातमाथिको उच्च निर्भरताले ऋण परिचालनको रकमबाट अर्थतन्त्रको आकार विस्तार गर्न नसकेको औँल्याए । विगतमा बाह्य कारणले अर्थतन्त्र समस्यामा पर्ने गरे पनि अहिले आन्तरिक कारणले नै समस्या देखिएको भन्दै उनले समाधानमा सरोकारवाला सबै अत्यन्तै गभ्मीर बन्नुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नबिल बैङ्कका नायब कार्यकारी अधिकृत मनोज ज्ञवालीले कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी) र ऋणको अनुपात ९६ प्रतिशतसम्म पुग्नु अर्थतन्त्रका लागि खतरनाक अवस्था रहेको औँल्याएका थिए । उनले पनि अब अर्थतन्त्रको संरचनात्मक रूपान्तरण नै अत्यावश्यक रहेको औँल्याएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *