अन्तर्राष्ट्रिय मान्यता अनुसार नै वाइडबडीको स्वामित्व हस्तान्तरण भएको कंसाकारको दावी

news-details

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइड बडी जहाजको निगमलाई प्राप्त स्वामित्व अन्तर्राष्ट्रिय मान्यता अनुसार नै भएको बताएका छन् । कंसाकारको भनाई अनुसार एयरबस कम्पनीले हाइफ्लाईएक्सलाई स्वामित्व हस्तान्तरण गरे लगतै हाइफ्लाइएक्सले निगमलाई स्वामित्व हस्तान्तरण गरिएको हो ।

हाइफ्लाइएक्सले उक्त विमान बुझेर लिनु अघि निगमको एक प्राविधिक टोली र हाइफ्लाइएक्सको टोलीले संयुक्त रुपमा टेक्निकल इन्स्पेक्सन गरिएको र त्यसपछि बाँकी रकम भुक्तानी गरिएको कंसाकारले बताए । त्यसपछि एयरबस कम्पनीले हाइफ्लाइएक्सको नाममा नामसारी गर्ने कार्य सम्पन्न भएलगत्तै हाइफ्लाइएक्सको नामबाट निगमको नाममा नामसारी अथवा स्वामित्व हस्तान्तरण भएको कंसाकारको भनाई छ ।

यो हस्तान्तरण अन्तर्राष्ट्रिय मान्यता अनुसार खरिद सम्झौतामा नै समावेश गरिएको ढाँचामा बिल अफ सेल्समा हस्ताक्षर गरि नामसारी कार्य सम्पन्न गरिएको निगमले जानकारी दिएको छ । यो प्रकृया इंगल्याण्डको कानून (द ल अफ इंगल्याण्ड एण्ड वेल्स) अनुसार गरिएको र सो बमोजिम कुनै प्रकारको कम्पनी स्ट्याम्प वा छापको आवश्यकता नहुने हुँदा युरोपमा हस्ताक्षर गरिएको कुनै पनि कागजपत्रहरुमा हाइफ्लाइएक्स र निगम दुबै तर्फबाट कुनै स्टाम्प नलगाइएको बताइएको छ ।

यसरी निगम र हाइफ्लाइएक्सबीच ट्रान्सफर अफ टाइटल अथवा बिल अफ सेल्स कार्य सम्पन्न भैसकेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार उक्त विमान निगमको स्वामित्वमा आएको स्वतः ठहर हुन्छ । यसैको आधारमा फ्रान्सको टुलुस शहरमा नै नागरिक उड्डयन प्राधिकरणका एक पदाधिकारीले सर्टिफिकेट अफ रेजिस्ट्रेसन जारी गरिएको र उक्त सर्टिफिकेटमा विमानको स्वामित्व निगमको नाममा दर्ता गरिएको उल्लेख छ । वास्तवमा उक्त विमान निगमको नाममा दर्ता नभएसम्म अन्तर्राष्ट्रिय कानुन अनुसार फ्रान्सबाट उडाएर नेपाल लग्न फ्रान्सको नागरिक उड्डयन नियमन निकायले उडान अनुमति नै दिन पाइदैन ।

पछिल्लो समय निगमले खरिद गरेका वाइडबडी जहाजको स्वामित्वबारे उठेको विवादलाई कंसाकारले अनावश्यक र स्वार्थ समूहको प्रोपोगोण्डा मात्र भएको पनि बताए । ‘सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली र निगमको आर्थिक विनियमावलीको हरेक दफा हूबहू पालना गरेर टेण्डर आव्हान गरिसकेपछि ६ वटा मुलुकको ११ वटा कम्पनीले प्रस्ताव पेश गरेकोमा ११ वटा कम्पनीले कंसाकारको निर्देशनमा एक आपसमा मिलोमतो गरी टेण्डर प्रस्ताव पेश गरेको भन्नु केटाकेटीपनको पराकाष्ट नै मान्नुपर्ने हुन्छ’, कंसाकारले बताए ।

कंसाकारले पछिल्लो समय विभिन्न स्वार्थ समूहले निगमलाई बदनाम गरेर आफ्नो स्वार्थपूर्ति गर्ने र निगमलाई धराशायी बनाउने लक्ष्यका साथ वाइडबडी जहाज खरिदबारे तथ्यहिन र दुराशययुक्त अफवाह फैलाइरहेको आरोप पनि लगाए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *