दसैंको मुखमा मुगुको पुलु खाद्य डिपो रित्तियो, बजारकै महँगो चामल किन्नुपर्ने बाध्यता
- अशोज १८, २०८३
- 0
हेमन्त केसी, सुर्खेत । दसैं नजिकिँदै गर्दा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो चामलविहीन भएको छ । डिपोमा चामलको मौज्दात सकिएपछि दुर्गम क्षेत्रका स्थानीयले सहुलियत मूल्यको सरकारी चामल पाउनबाट वञ्चित हुने अवस्था बनेको हो ।
डिपोमा चामलसँगै कर्मचारीसमेत नरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाका प्रमुख केशव गिरीले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध भएकाले पुलुमा ट्रकबाट चामल ढुवानी गर्न सकिएको छैन । सडकमार्ग सहज नभएपछि खच्चडबाट खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
‘पुलु डिपोमा अहिले चामल छैन । सडक अवरुद्ध भएकाले खच्चडबाट ढुवानी गरेर लैजानुपर्ने अवस्था छ,’ गिरीले भने, ‘सुर्खेतस्थित कम्पनीको प्रादेशिक कार्यालयबाट सिधै चामल ढुवानी गर्ने तयारी छ।’
मुगुको भौगोलिक विकटताका कारण जिल्लाका दुर्गम बस्तीमा खाद्यान्न पु¥याउन सडक तथा स्थलमार्गकै भर पर्नुपर्ने अवस्था छ । पछिल्लो समय वर्षा र पहिरोका कारण नाग्म–गमगढी सडकसहित जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध हुँदा खाद्यान्न ढुवानी प्रभावित भएको छ ।
असोजको दोस्रो सातासम्म मुगुको नाग्म–गमगढी सडकखण्डअन्तर्गत ताल्चामा सडक अवरुद्ध रहेको विवरण सार्वजनिक भएको थियो । सडक अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीको ढुवानी प्रभावित भएको थियो ।
मुगुमकार्मारोङ गाउँपालिका जोड्ने गमगढी–पुलु सडकमा समेत यातायात सहज नहुँदा डिपोमा खाद्यान्न पु¥याउन थप कठिनाइ भएको हो । सडक पुगेको ठाउँमा ट्रकबाट चामल पु¥याउन सकिने भए पनि सडक अवरुद्ध भएपछि दुर्गम बस्तीमा खच्चडलगायतका साधन प्रयोग गर्नुपर्ने बाध्यता छ ।
अत्यधिक चिसो, सीमित खेतीयोग्य जमिन र वर्षमा एक बाली मात्र उत्पादन हुने अवस्थाका कारण मुगुमकार्मारोङलगायतका उत्तरी क्षेत्रमा बाहिरबाट खाद्यान्न आपूर्ति गर्नुपर्ने अवस्था छ ।
गमगढीमा २८ सय क्विन्टल चामल
मुगु सदरमुकाम गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखामा भने अहिले करिब २८ सय क्विन्टल चामल मौज्दात रहेको शाखा प्रमुख गिरीले बताए । उनका अनुसार उपभोक्तालाई एकपटकमा प्रतिव्यक्ति २५ किलोका दरले चामल बिक्री भइरहेको छ ।
दसैँ–तिहारजस्ता चाडपर्व नजिकिएसँगै खाद्यान्नको माग बढ्ने भए पनि सदरमुकाममा तत्कालका लागि चामलको मौज्दात रहेको उनले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मुगु शाखामा चिनीसमेत बिक्री भइरहेको छ । जिल्लामा ५० क्विन्टल चिनी आएको र प्रतिव्यक्ति पाँच किलोका दरले बिक्री भइरहेको गिरीले जानकारी दिए ।
मुगुमा तीन डिपो, आपूर्तिको चुनौती उस्तै
मुगुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका तीन वटा दुर्गम डिपो सञ्चालनमा छन् । सोरु गाउँपालिकाको सोरुकोट, मुगुमकार्मारोङ गाउँपालिकाको पुलु र खप्तड छेडेदह गाउँपालिकाको श्रीकोटमा डिपो रहेका छन् । सदरमुकाम गमगढीमा शाखा कार्यालय तथा मुख्य बिक्री केन्द्र रहेको छ ।
तर, जिल्लाको भौगोलिक अवस्थाका कारण सदरमुकाममा चामल मौज्दात भए पनि दुर्गम डिपोमा समयमै पु¥याउन समस्या हुँदै आएको छ । सडक अवरुद्ध हुँदा सदरमुकाममा आइपुगेको खाद्यान्न पनि गाउँसम्म लैजान थप समय र खर्च लाग्ने गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष कर्णालीका दुर्गम बस्तीमा चाडपर्वअघि नै खाद्यान्न पुर्याउने र गाउँस्तरमै बिक्री केन्द्र विस्तार गर्ने योजना अघि सारेको जनाएको थियो ।
मुगुमा भने सडक सञ्जालको अवस्थाले यस्तो योजना कार्यान्वयनमा चुनौती थपिएको छ । कम्पनीको मुगु शाखाले सुर्खेतबाट सिधै खाद्यान्न ढुवानीको तयारी गरे पनि मुगु सदरमुकामबाटै दुर्गम बस्ती जोड्ने सडक सहज नभएसम्म डिपोमा नियमित आपूर्ति कायम राख्न कठिन हुने देखिएको छ । बजार क्षेत्रको बढी चामल पाउँछ अन्य क्षेत्रको कम पाउने गरेको स्थानीय रतन रावलले बताए ।
दसैँको मुखमा पुलु डिपो रित्तिएपछि अब तत्काल चामल पुर्याउन सकिएमा मात्र स्थानीय उपभोक्ताले सहुलियत मूल्यको सरकारी चामल पाउनेछन् । अन्यथा सडक र ढुवानीको समस्या प्रत्यक्ष रूपमा उपभोक्ताको भान्सासम्म पुग्ने अवस्था देखिएको छ ।









