टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियनका संचालकहरुको विवाद सामाजिक सञ्जालमार्फत छताछुल्ल भएको छ ।
अदालतमा मुद्धा विचारधिन भएको अवस्थामा यो विषय बाहिर ल्याएर एकअर्काको आरोप प्रत्यारोपले बजार तातेको छ । आइतबार विहानै कमेडी च्याम्पियन र कमेडी नाइट विथ च्याम्पियनका निर्माता तथा प्रस्तोता विशाल भण्डारीले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफुलाई अर्का सञ्चालकले दुःख दिएकोले प्रधानमन्त्री कार्यालयलाई समेत गुहारेको खुलाएका थिए ।
यद्यपी उनले अर्का संचालकको नाम उल्लेख नगरेता पनि उनका वारेमा सबै उल्लेख गरेका थिए । केही समय भण्डारीका पक्षमा सामाजिक सञ्जाल उर्लियो । तर, उक्त कम्पनीमा शेयर हाल्ने मलेसियामा बस्ने गैरआवासीय नेपाली हरिप्रसाद भट्टराई प्रतिवादमा उत्रिए ।
अनि खुल्यो एकअर्कामा भएको विवाद, मुद्धा र छेडखानीको रहस्य । सामाजिक सञ्जाल र सञ्चार माध्यममा विवाद छताछुल्ल भएपछि अन्ततः भट्टराईले भण्डारीको स्टाटसप्रति असहमति जनाउदै एक विज्ञप्ती नै प्रकाशित गरेका छन् ।
भट्टराईले लामो समयदेखि विदेशमा दुःख गरेर कमाएको केही रकम नेपालमै लगानी गर्न उत्साहित भएकाले थ्री प्रोडक्सन प्रालिका सञ्चालक विशाल भण्डारीसहितको प्रस्ताव अनुसार आफु उक्त कम्पनीमा भित्रिएको बताएका छन् ।
तर यो विवाद अदालतमा पुगेको अवस्थामा न्यायको सम्मान गर्दै फैसला पर्खिनुपर्नेमा सामाजिक सञ्जाल फेसबुकमा विशाल भण्डारीले आफुलाई लाञ्छित गर्ने र अनावश्यक विवादमा ल्याउने तथा विदेशमा बस्ने नेपालीहरुको आस्थाको केन्द्र गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई समेत जोड्दै स्ट्याटस लेखेपछि आफु निकै अचम्मित दुःखी भएको भट्टराईले बताएका छन् ।
उनका अनुसार भण्डारीले चलाएको सवारी साधन दुर्घटना हुँदा उक्त दुर्घटनाको सम्पूर्ण क्षती र खर्च कम्पनीको नाममा थोपरिएपछि त्यसप्रति असहमती जनाउदै उक्त कम्पनीसँगको सहकार्य अन्त्य गर्ने निर्णयमा आफु पुगेको बताए ।
‘२०८० चैत ८ गते राति मादक पदार्थ सेवन गरी विशाल भण्डारीले चलाएको सवारी भक्तपुरस्थित सडकमा अनियन्त्रित भएर दुर्घटना भयो । भण्डारीले मादक पदार्थ सेवन गरी गाडी चलाएको पुष्टि भएपछि भण्डारी केही दिन प्रहरी हिरासतमा समेत बसेका थिए । दुःखको कुरा के भने भण्डारीले मादक पदार्थ सेवन गरी चलाएको कम्पनीको गाडी दुर्घटना पश्चातको सम्पूर्ण खर्च सबै एकलौटी ढंगले थ्री प्रोडक्सन प्रालिबाट गराए । जसमा मेरो आपत्ति र असहमति रहिरह्यो । त्यसपछि मैले आफू अब सहकार्य गर्ने पक्षमा नरहेको र कानूनी रुपमा लगानी फिर्ता गर्न चाहेको बताएँ । थ्री प्रोडक्सनबाट मैले सम्पूर्ण लगानी फिर्ता लिने सहमति समेत भयो’ भट्टराईले विज्ञप्तीमा उल्लेख गरेका छन ।
भट्टराईले जारी गरेको विज्ञप्ती

कम्पनीबाट अलग हुने सहमतीसँगै आफुले पाउनुपर्ने रकम भुक्तानीका लागि भण्डारीले दिएको चेकको खातामा रकम अभावका कारण पटक–पटक बाउन्स भएपछि चेक अनादर प्रक्रियाका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा निवेदन दिएको भट्टराईले बताएका छन् ।
‘तोकिएको समयभित्र भुक्तानी नपाए चेक बाउन्सको मुद्धा दायर गर्नेसम्मको सहमति समेत त्यतिबेला नै गरिएको थियो । भुक्तानी नपाएपछि मैले सहमतिअनुसार नै जिल्ला प्रहरी परिसरमा चेक बाउन्सको मुद्धा दायर गरेँ’ भट्टराईले विज्ञप्तीमा उल्लेख गरेका छन ।
भट्टराईले विज्ञप्तीमा भनेका छन ‘नेपालकै माटोमा केही गरौं भनेर दुःख गरी कमाएको रकम लगानी गरेको मलाई मेरो मान, प्रतिष्ठामै आँच आउने गरी उहाँले जसरी अदालतलाई समेत प्रभावित पार्ने गरी एक पक्षीय ढंगले कपोकल्पित कुराहरू सामाजिक सञ्जालमा लेख्नुभएको छ, त्यसप्रति मेरो गम्भीर आपत्ति रहेको सम्पूर्ण न्यायप्रेमी जनतासामू यथार्थ जानकारी गराउन चाहन्छु र भ्रममा नपर्न अनुरोध गर्दछु ।’
यता भण्डारीले पुर्वशर्त भन्दा बाहिर भएर संम्झौता विपरित पैसाको लागि यातना दिन सुरु गरेको र कम्पनीको चेक लगेर बैकिंङ कसुरमा दायर गरेर दुःख दिएको बताएका छन् । आफुलाई दवावमा राखेर २ करोड ४० लाख असुलेको बताइरहँदा मुद्धा अदालतमा नै रहेको भण्डारीले स्वीकार गरेका छन् ।
अदालतमा मुद्धा भण्डारी आफैले हालेर अहिले सामाजिक सञ्जालमा पोखिदा दुवै पक्षको पोल खोलाखोल हुन थालेको छ । अदालतले मुद्धा किनारा लगाएर व्यक्तिगत लेनदेनलाई आफैमा मिलाउनुको सट्टा ‘सेन्टमेण्ट क्याच’ गर्न बाहिर आउँदा दुवै पक्षलाई घाटा मात्र हुनेछ ।








