मिराकल फिल्म्सद्वारा आयोजित अल वुमन डकुमेन्ट्री फिल्म मेकिङ वर्कशप सम्पन्न

news-details

मिराकल फिल्म्सले आयोजना गरेको अल वुमन डकुमेन्ट्री फिल्ममेकिङ वर्कशप सम्पन्न भएको छ । पुस २७ गतेदेखि माघ १४ गतेसम्म चलेको १६ दिने वृत्तचित्र निर्माण कार्यशालामा १८ देखि २५ वर्ष उमेर समूहका १२ जना महिला सहभागी रहेका थिए ।

‘कनेक्टहर फिल्म फेस्टिभल’ र ओस्कार फिल्म कलेजको सहयोगमा आयोजित कार्यशालामा वृत्तचित्र परिकल्पनादेखि निर्माण तथा वितरणसम्मको प्रशिक्षण दिइएको थियो । १४ दिने कार्यशालामा ८ जना प्रशिक्षकको मार्गनिर्देशनमा सहभागीहरुले ४ वटा वृत्तचित्र निर्माण गरेका थिए । पहिलो दिन कथा परिकल्पनाबाट सुरु भएको कार्यशालामा सहभागीहरुले पात्र छनोट, पटकथा लेखन, छायांकन तथा सम्पादनका बारेमा सिकेर बनाएका वृत्तचित्रको प्रदर्शन गर्दै कार्यशालाको समापन भएको थियो ।

कार्यशालामा रजिला श्रेष्ठले वृत्तचित्र परिकल्पना, राजन कठेतले कथा संरचना एवं प्रस्तुती र सुनिर पाण्डेले आइडिया पिचिङका बारेमा प्रशिक्षण दिएका थिए । यस्तै, शुभांगी खड्काले पात्रसँगको अन्तर्वार्ता, बबिन दुलालले छायांकन तथा दृश्य संयोजन, सुदिल धितालले ध्वनी तथा संगीत, किरण श्रेष्ठले भिडियो सम्पादन र नवनिधि दाहालले वृत्तचित्र वितरणका बारेमा प्रशिक्षण दिएका थिए । कार्यशालाको अन्तिम दिन कार्यशालाको दौरान सहभागीहरुले निर्माण गरेको वृत्तचित्रको ओस्कार फिल्म कलेजमा प्रदर्शन गरिएको थियो ।

कार्यशालामा चलचित्र वा वृत्तचित्र निर्माण र निर्देशनमा अनुभव नभएका महिलाहरुलाई सहभागी गराइ प्रयोगात्मक तालिम दिइएको मिराकल फिल्म्सकी संस्थापक तथा अल वुमन डकुमेन्ट्री वर्कशपकी संयोजक मिरा खड्काले बताइन् । ‘कहिल्यै डकुमेन्ट्री नबनाउनुभएका सहभागीहरु आफैंले कथा र पात्र खोजेर, स्क्रिप्ट लेखेर, आफैंले छायांकन र सम्पादन गरेर १४ दिनमा वृत्तचित्र तयार गर्नु चुनौतीपूर्ण काम थियो । तर, वहाँहरुले मेहनत र लगनका साथ वृत्तचित्र बनाउनुभयो, राम्रो पनि बनाउनु भएको छ,’ संयोजक खड्काले भनिन् ।

समापन कार्यक्रममा वृत्तचित्रहरुको पहिलो ड्राफ्ट मात्र प्रदर्शन गरिएको मिराकल फिल्म्सका सुरज कटुवालले बताए । पोस्ट प्रोडक्सनमा साउण्ड र कलरको काम छिट्टै सकेर औपचारिक कार्यक्रमसहित विशेष प्रदर्शनी गर्ने योजना रहेको पनि उनले बताए ।

यस्तै, वृत्तचित्र प्रदर्शनीका क्रममा कार्यशालाकी सह-संयोजक युबिना भट्टराईले १४ दिने कार्यशालाका उतारचढावहरु स्मरण गरिन् । छनोट गरिएका पात्रहरुले छायांकनको अनुमति नदिँदा र छायांकनका क्रममा सडक दुर्घटना भएका किस्साहरु सुनाउँदै उनले वृत्तचित्र बनाउन सहभागीहरुले गरेको मेहनतको प्रशंसा गरिन् ।

१४ दिने कार्यशालामा सम्पदा वाग्ले र मोनिका थापाले ‘अ फेमिनिस्ट ड्राइभ’ वृत्तचित्र बनाएका थिए भने रेबिका कुँवर, आरजु पराजुली र आँचल ढकालको टोलीले ‘स्टल नम्बर २’ निर्माण गरेको थियो । यसैगरी, प्रतिभा कुलुङ र शैली मल्लले ‘अ सङ फ्रम एबी’ वृत्तचित्र बनाएका थिए भने रुपासी दुलाल, रिदिमा कँवर क्षेत्री र सुस्मिता बोगटीले ‘ट्रिलियम’ वृत्तचित्र बनाएका थिए । सहभागीहरुले सो कार्यशालाबाट वृत्तचित्र बनाउन मात्र नभएर नयाँ आयामबाट आफ्नो र आफु वरपरका जीवनलाई हेर्न समेत सिकाएको बताए ।

नेपालको चलचित्र वृत्तमा महिला फिल्मकर्मीहरु कम भएको महसुस गरेका कारण सो कार्यशाला आयोजना गरिएको मिराकल फिल्म्सले बताएको छ । चलचित्र बनाउन रुची भएर पनि सुरु गर्ने बाटो नपाइरहेका महिलाहरुलाई वृत्तचित्र मार्फत् यस क्षेत्रमा प्रवेश गर्ने सेतुका रुपमा कार्यशाला आयोजना गरिएको सहसंस्थापक खड्काले बताइन् । वृत्तचित्र कार्यशालाको यो पहिलो संस्करण भएपनि यसको सफलताले भविष्यमा अझै सशक्त कार्यक्रमहरु आयोजना गर्ने उर्जा मिलेको उनले बताइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *