बबिनाको आत्माको भाव बोलेको गीत ‘के हुन्छ होला’ सार्वजानिक (भिडियोसहित)

news-details

के हुन्छ होला यो आत्मा भन्ने होला कि नहोला
बगेको खोला नफर्के जस्तै होला कि यो चोला ।
यो चोला पुरै मेटिने गरि जान्छ कि मरेर
अथवा फेरी जन्मिन्छ होला यो आत्मा सरेर ।

दर्शनशास्त्र र धर्मशास्त्रहरू अनुसार आत्मा जीवनको एउटा अङ्ग हो भनिन्छ भने श्रीमद्भागवत गीतामा ‘हामी सबै आत्मा हौं शरिर त केवल नश्वर चिज हो, आत्मा नै मुख्य हो’ भनिएको छ । ‘जव सम्म शरिर भित्र आत्मा रहन्छ शरिर भरि जताततै चेनता प्रवाहित हुन्छ र हामी मानिसलाई जिवित देख्दछौं, आत्माले शरिर छोड्ने वित्तिकै शरिर मृत बन्दछ र त्यो केवल जलाउन, गाड्न तथा फाल्नका लागि मात्र योग्य हुन्छ’ भन्ने पनि श्रीमद्भागवत गीतामा उल्लेख छ । मानव प्राणी जुन अलौकिक छन् मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन भन्ने धार्मिक मत रहेको छ ।

विज्ञानले आज सम्म यस बारे केही पनि पत्तो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि यन्त्रको आविष्कार अहिले सम्म भएको छैन । मृत्यु पश्चात के हुन्छ रु भन्ने बारेमा अनेकौँ मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै नास्तिकहरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो तर ऋषिहरु र योगीहरूले आत्माबारे आफुले योग गरेर जानेको र योबारे जानेपछि मृत्युको भयबाट मुक्त भएको भन्ने दाबी गर्ने गरेका छन् । गीतामा आत्मा अमर छ, शरिर मरेर गएपनि आत्मा उडेर गई अन्य कुनै शरिरमा समाबिष्ट हुन्छ भनिएको छ । यदि शरिरसंगै आत्माको परिवर्तन हुँदैन भने पनि फेरि किन जन्मेनन् ती हिटलर र मुसोलिनीका क्रुर आत्माका प्रतिबिम्बहरु रु अनि फेरि किन जन्म भएन शान्तिका दुत गौतम बुद्धहरु रु यी र यस्ता प्रश्नहरु हाम्रा मनमा पनि सलबलाइरहन्छन् ।

यी र यस्ता प्रश्नहरु गीतकार पुन्य चौलागाईका मनमा पनि उब्जिए । उनका मनमा उब्जेका यी भावहरु संगालेर उनले गीत लेखे । गीत गायिका तथा संगीतकार बबिना भट्टराई सम्म आइपुग्यो । उनले गीतका शब्दहरु केलाइन्, जति पढ्यो उति गहिरो भाव पाइन् गीतमा । उनले यो गीत गीतकारले भौतिक संसारभन्दा माथि उठेर लेखेको महशुष गरिन्, गहिरो भावका शब्दहरु, यथार्थताले भरिएका भावहरु अनि कतै अध्यात्म पनि जोडिए जस्तो अलौकिक । शब्दले उनको मन छोयो, उनले शब्दका भाव अनुरुप धुन भरिन् अनि गीत एरेन्जको लागि बलराम समालको सहयोग लिइन् । बलरामले गीतको भाव, मर्म अनि बबिनाले भरेकी लयलाई सुहाउँदो एरेन्ज गरेर गीत बबिनालाई जिम्मा लगाए । बबिनाले आफ्नै सुमधुर स्वरमा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गरिन् । गीत रेकर्डिङमा उनलाई साथ दिएका थिए नकुल कार्कीले, गीतलाई मिक्सिङ र मास्टरिङ गरेर अन्तिम रुप दिएका थिए प्रकाश खरेलले ।

अडियो तयार भए पछि बबिना यो गीतको भाव मिल्ने भिडियोको तयारीमा जुटिन्, उनको आफ्नै गायनको शैलीमा सुन्दर, शालिन अनि भद्र भावको भिडियो तयार भयो । बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत उक्त सन्देशात्मक एवं उत्पे्ररक गीत सार्वजनिक भयो । आँफूले लेखेको गीत यो रुपमा आउँदा गीतकार पुन्य चौलागाईले खुसी ब्यक्त गरेका छन् । उनले आफ्ना शब्दलाई बबिना भट्टराईले निक्कै मेहनतका साथ आफ्नै संगीतमा अत्यन्तै सुमधुर स्वरमा गाउनुको साथै भिडियोको सबै तारतम्य मिलाएर तयार गरेकीमा धन्यवाद व्यक्त गर्दै बबिनाको गायन, संगीत र भिडियो निर्माणमा दिएकी योगदानको प्रशंसा गरेका छन् । उनले भनेका छन् ‘बबिनाले नगाइदिएकी भए सायद मेरो यो गीत डायरीको कुनै पानामा सिमित हुन्थ्यो होला अथवा हराएर, च्यातिएर वा नासिएर जान्थ्यो होला तर सुमधुर स्वर कि धनी बबिना भट्टराईले मेरो यो गीतलाई अमर बनाइदिएकी छिन्, मेरो गीत प्रतिको उनको यो लगाव, मेहनत र मायाका लागि म आभार ब्यक्त गर्दै बबिनाको सांगितिक यात्राको सफलताको कामना गर्दछु ।’

सुनेर गीतकार रमेश दाहालले पुन्य चौलागाईको यो गीत नेपाली गीतिलेखनमा नै एक विशिष्ट र फरक खालको गीत भएको र यस्ता गीतहरु नेपाली गीति क्षेत्रमा दुर्लभ रहेको बताउँदै गायिका तथा संगीतकार बबिना भट्टराईले यी गीतका शब्दहरुलाई अत्यन्त मार्मिक रुपमा, शब्दहरुको भाव बुझेर संगीत भरेकी र सोहि भावमा आफ्नो सुमधुर गलाले गाएकी बताएका छन् । पछिल्लो समय सस्तो लोकप्रियता कमाउने होडमा आइरहेका गीत भन्दा यो गीत शब्द, संगीत र स्वरमा पृथक रहेको उनको धारणा रहेको छ ।

यो गीतले आत्माको गहिराई र यसको भावनाहरू खोलेको छ भने मानव भावना र अनुभवहरूको रहस्य पनि यो गीतमा भेटिन्छ । गीतले आत्माको खोज र भित्री चिन्तनको सारलाई समेटेको छ, आत्माको अदृष्य भावप्रति गीतकारको कौतुहलता यो गीतमा पोखिएको छ ।

सुगम संगीत र भक्ति संगीतमा तल्लिन बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालि, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।

भिडियो हेर्नुहोस् 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *