मेहनत र लगनशीलताले संगीतमा सफलता पाउन सकिन्छ : स्मृति शाही, गायिका

news-details

नेपाली आधुनिक गायनको क्षेत्रमा चर्चित गायिका हुन् समृति शाही । उनले गाएको ‘बिछोडको करौतीले काट्नु मन काट्यो, जादाँजादैँ मूलबाटोको दुईटा बाटो फाट्यो…’ यो गीत नसुन्ने नेपाली सायदै कोही होलान् । नेपाली कथानक चलचित्र ‘परदेशी’का लागी गायिका स्मृति शाहीले गाएको यो गीत लालगोपाल सुवेदीले लिपिवद्ध गरेका हुन् भने वि.वि. अनुरागीले संगीत भरेका हुन् ।

उनका अन्य चर्चित गीतहरुमा मेरो मुटु कलेजीमा थियौँ र त रोए, जाउँ प्रिय, म मरेर के भो, माया गर्ने जीवन साथी, मन परेको सबै कुरा लगायत हुन् । भर्सटाइल गायिकाको रुपमा चिनिने स्मृतिले लोकगीत र देउडा गीतहरुमा समेत स्वर दिएर श्रोता, दर्शकको मन जितेकी छिन् । एक दशकदेखि सांगितिक क्षेत्रमा सक्रिय उनी विशेष गरि सेन्टिमेन्टल गीतमा स्वर दिन रुचाउँछिन् । उनले गाएका अन्य गीत भन्दा सेन्टिमेन्टल गीत नै बढि चर्चामा आएका छन् ।

नेपाली संगीतको क्षेत्रमा चर्चित स्मृति पिता भद्रबहादुर शाही र माता कमला शाहीको कोखबाट सुर्खेतको वीरेन्द्रनगरमा जन्मिएकी हुन् । उनी बाल्यकालदेखि नै गीत गाउन रुचि राख्ने गर्दथिन् । सम्झना भए अनुसार कक्षा ६ मा पढ्दादेखि गीत, संगीतमा आफ्नो रुचि बढेको उनी बताउँछिन् । आफ्नो रुचिलाई जसरी पनि पुरा गर्ने दृढ संकल्प राखेकी उनले आफ्नो संकल्पलाई पुरा गरेकी छिन् । उनको यो सफलताबाट मनैदेखि संकल्प गरे कुनै पनि कार्य पुरा हुन्छ भन्ने सन्देश पनि दिएको छ ।

‘छोरी पढेर सरकारी जागिरे बनोस्’ भन्ने घरपरिवारको चाहना थियो तर उनको लगाव भने संगीतको क्षेत्रमा रहेको थियो । सुरुवाती दिनमा परिवारबाट संगीतको क्षेत्रमा लाग्न पटक्कै सहयोग नपाएकी स्मृति एस.एल.सी. परीक्षाको पूर्व सन्ध्यामा काठमाडौंमा संगीतको लागि खुलेको छात्रवृत्तिमा भाग लिन आउनु पर्ने भयो । एक त संगीततर्फ परिवारको लगाव नभएको र दोश्रो एस.एल.सी. जस्तो महत्वपूर्ण परीक्षाको तयारी गर्नु पर्ने अवस्थामा उनलाई काठमाडौं आउन दिने कुरै थिएन, तर उनी जसरी पनि उक्त छात्रवृत्ति छनौट प्रतियोगितामा सामेल हुनु नै थियो । आखिर आफ्नो दृढ संकल्प भएपछि बाधक केहि पनि र कोहि पनि नहुने रहेछ । उनी परिवारसँग विद्रोह गरेर घरबाट भागेर काठमाडौं आइन् र छात्रवृत्ति छनौटमा सहभागिता जनाइन् । सौभाग्य नै मान्नु पर्छ उनी छात्रवृत्तिमा छनौट भइन् र एस.एल.सीं पनि राम्रो अंक ल्याएर उत्तीर्ण भइन् ।

एस.एल.सी. पछि पारिवारिक दवावसहित उनको जीवनमा फेरी अर्को अप्ठ्यारो आइलाग्यो । संगीतलाई निरन्तरता दिने वा जागिर खाने र पढाई तिर लाग्ने ? फेरी पनि परिवारसँग विद्रोह गरेर उनी लगातार संगीत साधनामा नै तल्लिन भइन् । यो साधनामा गुरुहरु चण्डिप्रसाद काफ्ले, वि.वि. अनुरागी लगायतबाट उनले सधैं प्रेरणा, साहस र उत्साह पाइरहिन्, जुन साथले उनी आज नेपाली संगीतको क्षेत्रमा एक उचाई चुम्न सफल बनेकी छिन् ।

हाल सङ्गीतको क्षेत्रमा नै क्रियाशील छिन् स्मृति । विभिन्न संघ, संस्थाले विभिन्न जिल्लाहरुमा आयोजना गर्ने मेला तथा सांगितिक महोत्सवहरुमा सहभागिता जनाउन तथा विभिन्न गीत रेकर्ड गर्न स्टुडियो आउजाउमा नै उनको दैनिकी वित्ने गरेको छ । आफ्नो रुचि र पछिल्लो समय यहि पेशामा व्यस्त रहदा समय गएको पत्तो हुन्न उनलाई ।

वि.स. २०६४ सालदेखि औपचारिक रुपमा संगीतको क्षेत्रमा प्रवेश गरेकी उनले हालसम्म हजार हाराहारीमा गीत गाइसकेकी छिन् । विशेषतः सेन्टिमेन्टल आधुनिक गीत गाउन मन पराउने स्मृतिले आधुनिक गीत बाहेक सबै खालका गीतहरुमा आफ्नो स्वर दिएकी छिन् । लोकदोहोरी, देउडा र चलचित्रका गीतहरुमा पनि उनले स्वर दिएकी छिन् ती मध्ये उनले गाएका सेन्टिमेन्टल गीत अलि बढि चलेका छन् ।

पछिल्लो समय गीत, संगीतको क्षेत्र आर्थिक रुपले त्यति उत्साहजनक छैन । गीत, संगीतमा सक्रिय रहेर नै आर्थिक पाटोबाट सवल हुन निकै कठिन छ । यो अवस्थामा पनि स्मृति गीत, संगीतलाई नै आफ्नो पेशा बनाएर यो क्षेत्रमा क्रियाशिल एवं लगनशिल छिन् । अहिलेको प्रतिकुल अवस्थामा पनि मेहनत गरेमा यो क्षेत्रबाट सहज रुपमा जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण पनि हुन् उनी ।

अविवाहित गायिका स्मृति विवाह जीवनका धेरै कर्म मध्ये एक आवश्यक कर्म भएको स्वीकार गर्छिन् तर कहिले विहे गर्ने भन्ने सन्दर्भमा भने उनी अलमलको अवस्थामा छिन् । धेरै प्रेम प्रस्ताव आए पनि त्यतातिर खासै ध्यान नदिएकी उनी विहे कहिले गर्ने भन्ने सन्दर्भको जवाफ समयले नै दिने बताउँछिन् । विवाह एक सामाजिक बन्धन भएको स्वीकार्दै उनी भन्छिन् ‘विवाह पछि कलाकारिता क्षेत्रमा अहिले जस्तो सक्रियता दिन सकिदैन कि भनेर पनि विवाह बारे सोचिहालेको छैन ।’

काठमाडौंलाई कर्मथलो बनाएता पनि जन्मभूमि सुर्खेत र पोखरालाई विशेष मन पराउने गायिका स्मृति कुनै गीत चर्चित हुन एउटा मात्र पाटोले नपुग्ने बताउदै भन्छिन् –‘शब्द, संगीत, स्वर, स्टुडियो, मिक्सिङ, राम्रो भिडियो, प्रचार प्रसार लगायत सबै कुराको तारतम्य भयो भने गीत सफल अनि चर्चित बन्छ, दर्शक–श्रोताको मनमा बस्छ ।’

जीवनलाई संघर्ष मान्ने उनी डेढ दशकदेखि संगीतको क्षेत्रमा संघर्षशील छिन् । यहि संघर्ष, लगाव र मेहनतले सफलता दिलाउने उनको विश्वास छ । संघर्षमय जीवनमा कर्मशील उनी सामाजिक सेवामा पनि तल्लिन छिन् । दीनदुःखीहरुको सेवा पनि उनको दैनिकी भित्र पर्छ । सकेको सामाजिक र परोपकारी कार्यमा पनि सरिक रहदै संगीतको क्षेत्रमा सक्रिय रहने उनी बताउँछिन् । समाजसेवाले मनमा सकारात्मक उर्जा दिने उनको अनुभव छ । आफ्नो यहि अनुभवले उनी मानव जीवनमा सबैले सामाजिक क्षेत्रमा सकेको योगदान दिनुपर्ने बताउँछिन् ।

वर्तमान संगीतको अवस्थालाई नियाल्दै उनी भन्छिन् –‘संगीत क्षेत्रका सकारात्मक र नकारात्मक दुवै पाटाहरु छन्, देश–विदेशमा सो हरु गर्न सके धेरै राम्रो छ, तर संगीतमा खर्च धेरै छ । सोचेर मात्रै लाग्नु पर्ने अवस्था छ । गीतबाटै रिटर्न आउने अवस्था कठिन छ । कला मात्रै भएर पनि गाहे छ, आर्थिक पाटो पनि दहे चाहिन्छ यो क्षेत्रमा ।’

सांगितिक क्षेत्रमा सफलता चुम्दै अगाडी बढिरहेकी स्मृतिको संगीत क्षेत्रप्रतिको लगावले आगामी दिनमा यो क्षेत्रमा अझ धेरै सफलता हासिल गर्ने विश्वास गर्न सकिन्छ ।

email : [email protected]

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *