राष्ट्रिय बाल नाटक मेला–२०७९ मा ‘पार्वती’ सर्वोत्कृष्ट

news-details

नेपालको रंगमञ्चमा सर्वाधिक पुरस्कार राशी भएको नाट्य महोत्सव ‘राष्ट्रिय बाल नाटक मेला–२०७९’ मा भक्तपुरको निस्ट स्कूलले प्रस्तुत गरेको नाटक ‘पार्वती’ ले सर्वोत्कृष्ट नाटकको पुरस्कार सहित एक लाख रुपैयाँ नगद प्राप्त गरेको छ ।

गत फागुन ८ गतेदेखि प्रारम्भ भएको राष्ट्रिय बाल नाटक मेला २०७९ मा नाटक ‘पार्वती’ले सर्वोत्कृष्ट नाटकका साथै पुष्पराज अवस्थीले उत्कृष्ट निर्देशक, स्यारोन कटुवालले उत्कृष्ट सहायक चरित्र पुरुष, सुजन पहाडीले उत्कृष्ट नकारात्मक चरित्र पुरुष, उत्कृष्ट भेषभुषा, उत्कृष्ट श्रृंगार, उत्कृष्ट पाश्र्व ध्वनि गरी जम्मा ७ वटा पुरस्कार जितेको छ । सर्वोत्कृृष्ट नाटक बाहेक हरेक विधाका लागि ५ हजार रुपैयाँ नगद पुरस्कार पनि रहेको थियो ।

नाटक मेलामा वृहस्पति विद्यासदनले प्रस्तुत गरेको नाटक ‘रुरुरु’ का मनोज तामाङले उत्कृष्ट नाटककार तथा निर्णायक सम्मान, स्पर्श अधिकारीले उत्कृष्ट शिर्ष चरित्र पुरुष, अध्यता क्षेत्रीले उत्कृष्ट हास्य चरित्र महिला गरी ४ वटा पुरस्कार जितेको छ ।

नेक्सस स्कूलले प्रस्तुत गरेको नाटक ‘ड्याड भर्सेस मम’ बाट हेईस्का निरौलाले उत्कृष्ट शिर्ष चरित्र महिलाको पुरस्कार, आयुषा पराजुलीले उत्कृष्ट नकारात्मक चरित्र सहित उत्कृष्ट मञ्च परिकल्पना, उत्कृष्ट प्रकाश परिकल्पना गरी ४ वटा पुरस्कार प्राप्त गरेको छ ।

मेलामा उत्कृष्ट सहायक चरित्र महिलाको पुरस्कार विद्या सागर स्कूलको ‘सपना’ बाट कुईन्सी श्रेष्ठ र उत्कृष्ट हास्य चरित्र आरभ पुरीले प्राप्त गरे । उत्कृष्ट प्रत्यक्ष संगीत ‘कोही त बुझ न’ ले प्राप्त ग¥यो ।

मेलाको निर्णायकमा राजेन्द्र शलभ, भुवन चन्द र शेखर चापागाईँ रहेका थिए । कार्यक्रममा नाट्यकर्मी महासंघका अध्यक्ष राजेन्द्र रिमालले मेला आयोजनाका लागि पाँच महादेशबाट सहयोग गर्ने शुभचिन्तकहरुलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।

रिमालले आगामी वर्षको लागि राष्ट्रिय बाल नाटक मेला २०८० को माघ २४ गतेदेखि सञ्चालन हुनेछ । त्यसका लागि सहभागिताका लागि आजैको मितिदेखि तयारी थाल्न सबैलाई आह्वा पनि गरे ।

राष्ट्रिय नाचघरमा उद्घाटन भएर सञ्चालन भएको मेलाको समापन नेपाल प्रज्ञा प्रतिष्ठानको डवलीमा गरिएको थियो ।

मेलामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्माले बालबालिकाहरुको लागि यत्रो महोत्सव आयोजना गरेको र आगामी वर्ष अझै यो भन्दा व्यापक रुपमा गर्ने भन्ने सुनेकोले वधाई तथा शुभकामना व्यक्त गरिन् ।

समापन कार्यक्रममा सिल्क रोड ईन्टरनेशनल लिग अफ थिएटरका संस्थापक सदस्य दीपक सरकार, पशुपति विस्कुटका तर्फबाट श्रीपा श्रेष्ठ, कवि महेश पौड्याल, कलाकार मोहन निरौला लगायतले पनि बोलेका थिए । कार्यक्रम महासंघका सचिव जेबी डिसीले सञ्चालन गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *