पारस शाहको दुरुस्तै अभिनय गरेपछि भरतमणि पौडेलको चर्चैचर्चा

news-details

‘कमेडी च्याम्पियन २’को फाइनलमा पुग्ने पहिलो प्रतिस्पर्धी हुन्, भरतमणि पौडेल । ताप्लेजुङका भरतमणिले यो शोमा ७ पटकसम्म ‘पर्फमर अफ दि विक’को उपाधि समेत पाइसकेका छन् । उनले, प्रस्तुत गरेका थुप्रै विषयलाई दर्शकले अत्यधिक रुचाए ।

शनिबार प्रसारण भएको शोमा भरतमणिले पूर्व यूवराज पारस शाहको अभिनय गरे । पारस शाहको हाउभाउ, बोलीलाई दुरुस्तै उतारेपछि भरतमणिको अहिले चौतर्फी प्रशंसा पनि भैरहेको छ ।डेढ वर्षदेखिको कोशिश

पारस शाह बन्नका लागि भरतमणिले डेढ बर्ष अगाडि नै सोचेका थिए । तर, कुनै पनि पात्रको चरित्र निर्वाह गर्नका लागि पहिले आफूमा निपुणता आउनुपर्ने बुझेका भरतले कमेडी च्याम्पियनको स्टेज पाएपछि मौका गुमाउन चाहेनन् । उनले भने– ‘म एउटा राम्रो स्टेजको पर्खाइमा थिएँ । कमेडी च्याम्पियनको स्टेज भन्दा अर्को उत्कृष्ट ठाउँ नै थिएन । यसैले, यही स्टेजमा पारस शाहको अभिनय गरेको हुँ ।’

भरतले पारसको हाउभाउ र बोली दुरुस्तै उतार्नका लागि शुरुमा उनका अन्तरवार्ताहरु हेरेका थिए । उनले भने–‘मैले उहाँको बोल्ने, हिंड्ने, नाच्ने सबै शैलीहरुलाई सूक्ष्म रुपमा अध्ययन गरेको थिएँ । पारस शाह युवराज हुँदा र अहिले खासै बदलिनुभएको छ भन्ने मलाई लाग्दैन । शायद, त्यो समयको भिडियो सार्वजनिक नभएर पनि धेरैलाई यस्तो लागेको हुनसक्छ ।’

पारस शाहको लबज निकाल्न भने समय लागेको भरत बताउँछन् । अरु, नेताहरुको जसरी उनले अभ्यास गर्थे, पारस शाहको पनि त्यसरी नै अभ्यास गरें । सुरुमा आफूले पारसको स्वरमा बढी ध्यान दिएको भरतमणि बताउँछन् ।

भरतमणि आफूले कहिल्यै पनि स्टेजमा कोशिश नगरेको बताए । उनले भने–‘म स्टेजमा गएर कोशिश गर्न नै चाहन्नँ । कहिलेकाहीं आफूले उत्कृष्ट प्रस्तुति दिन खोज्दा त्यो कोशिश जस्तो भैदिन्छ ।’

भरतमणिले फाइनलमा प्रवेश गर्नु पूर्व पारस शाहको चरित्र निर्वाह गरेपछि धेरैले उनलाई ‘शक्तिशाली अस्त्र’ प्रयोग गरेको भनेर प्रतिक्रिया दिइरहेका छन् । तर, भरतको प्रस्तुतिको ट्रेलर मात्र सार्वजनिक हुँदा कतिपयले उनलाई राजपरिवारको खिल्ली उडाउन खोजेको भनेर आरोप समेत लगाएका थिए । तर, पूरा कार्यक्रम प्रसारण भएपछि भने भरतले प्रशंसा नै प्रशंसा पाएका छन् । उनले भने–‘शायद, मेरो स्ट्यान्ड अप कमेडी हेरेपछि पूर्व यूवराज पारस शाह पनि खुशी हुनुहुन्छ होला ।’

म स्टेजका नयाँ कुरा कोशिश गर्न चाहन्नँ

भरतमणि आफू स्ट्यान्ड अप कमेडीमा नै केन्द्रित हुने बताउँछन् । उनी, सामाजिक संजालमा टिप्पणी भए जस्तो आफूले मुख बङ्ग्याएर अभिनय नगरेको बताउँछन् । उनले भने–‘सबै कुरा क्यारिकेचरको मात्र होइन । मैले प्रस्तुत गरेका विषयलाई दर्शकले मन पराउनुभएको छ । मसँग पैसा छैन । तर, पनि देश तथा विदेशबाट मेरो प्रस्तुति मन पराएर दर्शकले भोट गरिदिनुभएको छ । मैले, उत्कृष्ट २४ मा पुगेपछि हरेक साता वेष्ट गर्ने कोशिश गरेको छु । कुनै साता मेरो प्रस्तुति तल त कहिले माथि भयो होला । तर, मैले एकनाशले सबै कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने कोशिश गरिरहेको छु ।’

भरतमणिले कमेडी च्याम्पियनको स्टेजमा नयाँ कुरा कोशिश गर्न नचाहने पनि बताए । उनले भने–‘यो एउटा प्रतिस्पर्धा हो । जहाँ, सबै जना जित्छु भनेर नै आएका छन् । मैले त शुरुमा नै यो शो जित्नका लागि आएको बताएको थिएँ । मलाई लाग्छ यो शो मैले नै जित्छु । यसैले, यहाँ जोखिम मोलेर काम छैन । म जुन चिजका लागि स्टेजमा गएको हुन्छु, सोही चिज देखाउने नै मेरो कोशिश हुन्छ । शोमा दर्शकलाई हँसाउनुपर्छ, मैले त्यही गरिरहेको छु ।’

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *