जब ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ…’

news-details

 

दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदलगायत विशिष्ट व्यक्तिहरू सहभागी समारोहमा नेपाली कलाकारले आफ्नो बेजोड प्रस्तुति दिने अवसर पाएका छन् ।

‘असारे महिनामा…’, ‘साँघुरी वारी…’, ‘साउने खोला…’, ‘लेकाली हो हो…’, ‘शिर शाय हेगु…’, ‘झम्के फुली…’, ‘एही ठहिया…’, ‘नेपाली हामी रहौँला…’, बोलका गीतका साथै बाँसुरी बादन र अन्य सांस्कृतिक नेपाली तथा बगलादेशी नृत्यहरूको प्रस्तुतिले अन्य सहभागीलाई पनि आकर्षित गरेको थियो । सोमबार साँझ झण्डै दुई घन्टासम्म अविछिन्न रुपमा गरिएको साङ्गीतिक प्रस्तुतिको लहरले अत्याधुनिक हलसहितको ढाकास्थितको ‘नेशनल परेड स्क्वायर’ को सभाकक्षा गुञ्जयमान भएको थियो ।

बङ्गलादेशी राष्ट्रपति हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका पुगेकी थिइन् । राष्ट्रपति भण्डारीले ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गरेकी थिइन् । सम्बोधनपछि उक्त सांस्कृतिक कार्यक्रम गरिएको थियो, जसलाई राष्ट्रपतिद्वयसँगै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि रसास्वादन गरेकी थिइन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार भ्रमणका अवसरमा बङ्गलादेशी पक्षबाटै नेपाली कलाकारहरूको प्रस्तुति गराउन प्रस्ताव आएअनुसार तय गरिएको बताए । सामान्यतः यस्ता प्रस्तुतिका लागि स्वदेशबाटै भ्रमण दलमा सहभागी गराएर कलाकारहरू लाने चलन धेरै छैन । यस पटकको भ्रमणका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती पनि विशिष्ट सदस्यका रुपमा भ्रमण दलमा सहभागी थिए । दुई देशबीचको उच्चस्तरीय भेटवार्तापछि सांस्कृतिक आदानप्रदानबारे समझदारीपत्रमा हस्ताक्षर पनि हुनुले दुई देशबीचको कला र संस्कृतिको आदान प्रदानको महत्व बढ्दो रहेको मान्न सकिन्छ ।

भ्रमणका लागि नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको नेतृत्वमा १९ सदस्यीय कलाकार टोली सम्मिलित भएको थियो । टोलीले राष्ट्रपति भवन शीतल निवासमा पूर्वाभ्यास गरी प्रस्तुति तय गरेको थियो । टोलीमा नृत्य निर्देशन शारदादेवी सिलवाल, बाँसुरी बादनमा दुर्गाप्रसाद खतिवडाले गरेका थिए । महाप्रबन्धक राईले आफ्नो तर्फबाट मेहनत गरी प्रस्तुति गरिएको र अपेक्षाकृतरुपमा राम्रो भएको बताए । टोली सहभागी नृत्यकार सनम खड्गीले आफूले यस प्रकारको मञ्च र राजकीय भ्रमणमा पहिलो पटक प्रस्तुति दिन पाउँदा खुशी व्यक्त गरे ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *