गायिकाको दशैं : नवरात्रीमा ‘नौ नारी’को यस्तो छ योजना

news-details

नेपालीहरूको महान चाड दशैं नजिकिएको छ । असत्य माथी सत्यको विजयको प्रतीकको रुपमा मनाइने दशैंको सबैतिर रौनकता बढेको छ । टाढा–टाढा जानेहरूले टिकट बुक गरिसकेका छन्, नयाँ पैसा साट्न बैंकमा लाइन बस्नेको भीड उत्तिकै छ । विद्यालयहरू बन्द भइसकेका छन् । गाउँबाट अध्ययनको लागि शहर पसेकाहरूको घर जाने लर्को लागेको छ । नेपालीको महान चाड दशैं जसको आफ्नै सामाजिक, राजनैतिक र आर्थिक महत्व छ । दशैं सामाजिक रूपमा एक आपसमा सद्भाव, माया, आदर बढाउने पर्व पनि हो । गरिवीको रेखामुनि रहेका धेरै नेपालीले दुःख गरेर भए पनि एक छाक मीठो र एकसरो नयाँ लुगा फेर्ने अवसर पनि हो दशै । सधैं विभिन्न स्टुडियोमा गीत रेकर्ड गर्नमा व्यस्त गायिकाहरू पनि दशैंको अवसरमा फुर्सद लिने र रमाइलो गर्ने योजनामा छन् । कसरी मनाउँदै छन् त गायिकाले दशैं  ?

संगीता राना प्रधान

परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मनाइने अवसर नै दशैंको राम्रो पक्ष हो । मेरो घरमा भने यसपाली दशैं छैन । मेरो लागि दशैंको रौनकता भनेको नवरात्रीका नौ दिन पनि हुन् । संगीतकर्मीहरूको लागि नवरात्री विशेष दिन हुन् । यी दिनमा माता भगवतीको पूजा आराधना संगै रियाज गर्दा विशेष लाभ हुने मेरो आफ्नै अनुभव छ । विगतका वर्षहरूमा जस्तै यो नवरात्रीमा पनि दुर्गा भवानीको पूजा, आराधना र रियाज गरेर बिताउनेछु । रेकडिङ्गको रहर भए पनि सबैतिर बन्द हुने हुँदा यो रहर दशैं लगत्तै पुरा गर्नेछु । भर्खरै ठुलो शल्यक्रियाबाट स्वास्थ्यलाभ गर्दै रहनु भएको श्रीमान्ज्यूको हेरविचारमा विशेष समय दिनेछु ।

सहिमा श्रेष्ठ

दशैंमा सधैं रमाइलो हुने गर्दथ्यो । आँफूभन्दा ठुलाबाट टीका र जमरा लगाउने, आशिक लिने अनि वर्ष भरी भेट्न नपाइएका आफ्ना आफन्त र मान्यजन कहाँ टीका लगाउन जाने.. तर यसपटक टीका छैन हाम्रो । अलि खल्लो महशुष पनि भइरहेको छ तर यो खल्लोपनलाई मेटाउन विभिन्न सांगितिक प्रस्तुतिहरूमा सामेल हुदैछु म । बचेको समय परिवारसँग रमाउनेछु । दशैंको नाममा हुने काटमारको भने म सधैं विरोधी हुँ । आँफू रमाउन र खुशी हुन अर्काको हत्या गरिनु गलत कार्य हो जस्तो लाग्छ । मेरा श्रोता र शुभचिन्तक सबैलाई दशैंको मुरी मुरी शुभकामना ।

ऋतु क“डेल

अहिले सांगीतिक कार्यक्रमको सिलसिलामा जापानमा छु । यसपालीको दशैं यतै पो हुन्छ कि जस्तो छ । जीवनका धेरै बसन्त स्वदेशको दशैं मनाइयो, यो पटक विदेशमा दशैं मनाउने योजना छ । जापानमा रहनुभएका आफन्त, नेपाली दाजुभाई दिदी–बहिनीहरूसँग भेटघाट र रमाइलो गरेर मनाउने योजना छ । दशैं विशेष सांगितिक प्रस्तुतिहरूमा पनि व्यस्त रहनेछु । स्वदेश र परिवारजनको यादले भने सताउनेछ, त्यहि याद संगालेर रमाइलो मान्नु पर्ला, हेरौ विदेशको भूमिको दशैै कस्तो हुन्छ ? अनुभव पनि गर्नु छ । तिहार मान्न भने नेपाल आइपुग्छु ।

विन्दु परियार

पर्ख पर्ख मायालु म पनि त आम्ला ..रेलको झ्याल समाएर संगै भागम्ला …’ आँफूले गाएर चर्चा पाएको गीत गुनगुनाउदै दशैं मनाउने योजनामा छु । खासै दशैंको लागि विशेष तयारी केहि पनि गरेकी छैन । पहिलेको भन्दा यो दशैं केहि हिसावले विशेष पनि छ मेरो । त्यो भने पाठक तथा श्रोता मित्रहरूले पछि थाहा पाउनु हुनेछ । दशैंको सबैलाई शुभकामना ।

पशुपति ताम्राकार

यो दशैै मेरो जीवनकै अविश्मरणीय दशैै हुदैछ । झण्डै पन्ध्र वर्षपछि हामी सपरिवार नेपालमा संगै रहेर दशैै मनाउँदैछौ । धेरै आफन्तजनलाई पनि यहिं निम्त्याएका छौं । यो अविश्मरणीय पललाई हिंसारहित बनाउने पनि मेरो अनि परिवारको योजना रहेको छ । काटमार नगरिकन दशैैं मनाउने योजना छ । आँफू जान्ने बुझ्ने भए पछिको यो पारिवारिक जमघटले यो दशैं उल्लास र समंगमय हुनेछ । अग्रजहरूले दिनुहुने आशिकले जीवनमा महत्वपूर्ण सफलता हसिल गर्न सहयोग पुग्ने विश्वास लिएकी छु ।

सोफिया थापा

दशैंले जीवनलाई हाम्रो मान्यजन मार्फत ‘आयु द्रोणसुते, श्रियम् दशरथे…’ भन्दै अशिर्वादका मन्त्रमार्फत जीवनलाई सधैं सकारात्मक तथा बिजयी उत्सब भावमा अगाडि लैजाउ भन्ने उर्जा प्रदान गर्छ जस्तो लाग्छ मलाई । मालश्री धुन अनि दशैंले मलाई संगीत सृजना तथा आध्यात्मिक चिन्तनका लागि सधैं प्रेरित गर्छ । वर्षभरी थाँती राखिएका सांगीतिक काम, साहित्यिक सपनालाई मूर्त रूप दिने समय दशैं हो मेरो लागि । मैले आँफै लयवद्ध गरेका केही गीतहरू दशैं कै छुट्टीमा पुरा गर्दैछु र साहित्यमा पढ्न मन लागेका केही कृतिहरू पनि यसैबेला पढ्ने छु । संगीत साधना र पढाई बाहेक मेरो महत्वपूर्ण समय आफ्नो बाबासँग आध्यात्मिक चिन्तनबारे प्रबचन सुन्ने, वहाँले सिकाउने ध्यानका विधिहरू सिक्ने र प्रयोग गर्ने समय पनि दशैंं हो । वातावरण नै मनमोहक हुने यो दशैंका अत्यन्त राम्रा पक्षबीच बजारमा अत्यावश्यक बस्तुको कृतिम अभाव नहोस्, दशैं मनाउन आफ्नो घर जानेहरू दुर्घटनामा परेको खवर सुन्न नपरोस्, सबैको दशैं रमाइलो होस् भन्ने कामना पनि व्यक्त गर्दछु ।

सोनी राजभण्डारी

दशैं हाम्रो महान चाड भएकोले यसलाई हर्ष उल्लासका साथ मनाउने योजनामा छु । दृर्गा भवानीको पूजापाठ गरि मनमा शान्तिको दियो वालेर सबैको सु–स्वास्थ्य, सम्वृद्धि एवं दीर्घायुको कामना गर्नेछु । आफ्नो परिवारका साथ विभिन्न परिकारहरू बनाएर खाने र खुवाउने अनि रमाइलो गर्ने विचार छ । आँफूभन्दा ठुलाको हातवाट रातो टीका थापि आशिष लिन र सानालाई टीका लगाई आशिष दिन उत्सुक छु । तर तडक भडकको नक्कल गर्दै ऋण लिएर दशैं मनाएको राम्रो लाग्दैन मलाई । त्यो ऋण पछि गएर आफ्नो पासो बन्न पुग्दछ । सबैले आफ्नो आर्थिक अवस्था अनुसार दशैं रमाइलो गरी मनाउनु पर्छ । जुवा, तास खेली, रक्सी पिएर झै–झगडा गरेको अलि नराम्रो लाग्छ । बच्चाहरूले पनि आफ्नो आमावावुको अवस्था हेरेर माग राख्ने गर्नु पर्छ । दशैंलाई सहज र रमाइलो गरि मनमा आनन्द लिई मनाउनु पर्दछ भन्ने मान्यता राख्दै यसरी नै दशैं मनाउने योजना मनमा बुनेकी छु ।

शान्ति खिरा कु“वर

अस्पतालको ड्युटी भएकोले चाडवाड भएपनि फुर्सद कमै हुन्छ । बचेको समय परिवारसँग रमाइलो गरेर मनाउने योजना छ । चाडवाडको नाममा अत्याधिक अल्कोहल सेवन लगायतका कार्यमा मानिसहरू बढि सक्रिय हुने हुँदा विभिन्न दुर्घटनाबाट अस्पताल आउनेको संख्या बढि हुने गरेको मेरो अनुभव छ । चाडवाडको नाममा यस्ता गतिविधि नगर्नु हुन पनि मेरो सबैमा अनुरोध छ । साथै दिनानुदिन बालबालिका बलात्कार भएका समाचार आइरहेका छन्, दुर्गाभवानीले सबैलाई सद्मार्गमा हिंड्ने प्रेरणा दिउन्, सबैलाई दशैंको शुभकामना व्यक्त गर्दछु ।

निखिता थापा

दशैं मलाई मन पर्ने पर्व हो । अग्रजहरु संग टीका लगाएर, आशिक लिएर मनाइने दशैंको महत्व धेरै छ मेरो लागी तर यसपाली दशैं छैन घरमा । सांगितिक कार्यक्रमहरुमा व्यस्त रहेर दशैैं मनाउँछु । मैले दशैं मनाउन नपाए पनि दशैंको सबैलाई धेरै धेरै शुभकामना ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *