सरुको नयाँ तीज गीत ‘आमा बरी लै’ सार्वजनिक (भिडियोसहित)

news-details

विगत डेढ दशकदेखि सांगीतिक क्षेत्रमा निरन्तर लागिपरेकी गायिका धन कुमारी थापा ‘सरु’ ले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर मार्मिक तिज गीत लिएर आएकी छिन् । दरबारमार्गमा रहेको जुनकिरी दोहोरी क्लबमा एक कार्यक्रमकाबीच उनको ‘आमा बरी लै’ बोलको नयाँ तिज गीत भिडियो सार्वजनिक गरिएको हो ।

गोरख म्युजिक प्रा.लि.को प्रस्तुति रहेको आमा र छोरीको सम्बन्ध बोल्ने यस गीतमा वरिष्ठ गायिका बिमा कुमारी दुरा, गायक नरेश खाति, गायिका धन कुमारी थापा ‘सरु’ र शान्ति श्री परियारको स्वर समावेश छ । स्वयम गायक खातिको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । सार्वजनिक भिडियोमा वरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’, मोडल दिपासा बिसी, कलाकार शर्मीला शर्मा, स्वयम सर्जक नरेश खाति र धन कुमारी थापाले अभिनय गरेका छन् ।

गीत रिलिज कार्यक्रममा बोल्दै बरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’ ले तीजलाई लक्षित गर्दै तयार पारिएको यस गीतमा बेदनाको भाव समावेश गरिएको बताए । उनले पछिल्लो समय नेपाली चलचित्रमा लोक लयमा आधारित गीत राख्न थालिएको र त्यसलाई दर्शकले समेत अत्याधिक रुचाएको भनाई राखे । हास्यकलाकार केसीले गायिका सरुसँग दशवर्ष अघिको चिनजान भएको भन्दै अघिल्ला तीजका गीतमा समेत सहकार्य गरेको स्मरण गरे ।

यता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्माले तीजमा सार्वजनिक हुने थुप्रै गीतको भिडमा ‘आमा बरि लै’ भिन्न सावित हुने तर्क गरे । उनले यस गीतको शब्द, गायकी र भिडियो मन छुने बनेको बताए । मौलिक सिर्जनाको लागि लामो समयदेखि कलम चलाउँदै आएका सर्जक रमेश बिजीले तीज लगायत अन्य बखत सार्वजनिक हुने लोक तथा दोहोरी गीत छिट्टै चर्चामा आउने र हराउने प्रकारको हुने भन्दै यो गीत चर्चित भन्दा लोकप्रिय हुन सफल रहोस् भन्ने शुभकामना दिए ।

त्यस्तै, मोडल दिपासा बिसीले यो प्रोजेक्टमा जोडिन पाउदा खुसी लागेको बताइन । उनले किरण केसी जस्तो अग्रज कलाकारसँग एकसाथ काम गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको भनाइ राखिन् । भोलिको दिनमा अझ अभिनयमा निखारपना ल्याउदै दर्शकको मन जित्ने काम आफुले गर्ने दिपासाको तर्क थियो । गीतका रचनाकार, संगीतकार तथा गायक नरेश खातिले ‘आमा बरि लै’ मन छुने गीत बनेको बताए । सुन्ने जति सबैलाई गीतले कहि न कहि छुने उनको विश्वाश थियो ।

उता गायिका धन कुमारी थापा ‘सरु’ ले विगत वर्ष जस्तै यो पटक पनि तीजको कोसेली दर्शक श्रोतालाई उपहार स्वरुप ल्याएको बताइन । उनले अघिल्ला वर्षमा नाच्ने खालका गीत ल्याएपनि यो पटक भने मन छुने मार्मिक भावको गीत ल्याएको बताइन । धेरै छोरी चेलीको जीवनमा यो गीत मेल खाने प्रकारको हुनाले विगत जस्तै यो सिर्जनालाई पनि दर्शक श्रोताले मन पराउने विश्वास उनले व्यक्त गरिन् । यो पटक गीतमा तीन पुस्ताकै सहकार्य आफुले गरेको उनको भनाई छ । वरिष्ठ गायिका बिमा कुमारीदेखि कान्छी पुस्ताकी गायिका शान्ति श्री परियारसम्मलाई सरुले अटाएकी छिन् ।

कार्यक्रममा गायक तथा समाजसेवी गोकुल अधिकारी, गायक, रचनाकार तथा मोडल सुजन लम्साल, गायक मेक्सम खाति लगायतका श्रष्टा तथा सर्जक उपस्थित थिए । सार्वजनिक गीत म्युजिक नेपालको युटुब च्यानल मार्फत हेर्न सकिनेछ ।

हेर्नुहोस भिडियो

https://www.youtube.com/watch?v=uARSRxXbZhE

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *